
पोखरा-‘पोखरा सबै मौसमको लागि’ भन्ने नाराका साथ पोखरामा यस वर्ष १५ औ असारे महोसत्व हर्षोल्लासपूर्वक मनाइएको छ।
नेपाल पर्यटन बोर्डको सहयोग तथा क्षेत्रीय तथा जिल्ला कृषि कार्यालयको सहकार्य तथा विभिन्न युवा तथा आमा समूहहरुको सहयोगमा पोखरा पर्यटन परिषदले यो वर्ष फेवातालको सिरान पामेमा रोपाइ महोत्सवलाई हर्षोल्लासपूर्वक मनाएका हुन्।
महोत्सवको उद्घाटन प्रदेश नम्बर ४ का उद्योग वन तथा पर्यटन मन्त्री विकास लम्साल आफैं हलो जोतेर रोपाइलाई झन रोमाञ्चक बनाएका थिए। उनलाई विभिन्न युवा तथा आमा समूहहरुका रोपारहरुले साथ दिएका थिए।
हलो जोतेर उद्घाटनपछि बोल्दै मन्त्री लम्सालले चार नम्बर प्रदेश पर्यटनमा मात्र नभइ कृषिमा समेत आत्मनिर्भर बन्ने सम्भावना प्रसस्त रहेको बताए। उनले भने, ‘असारे महोत्सवले कृषिप्रति नयाँ पुस्ताको ध्यान तान्नु जरुरी छ।त्यसकारण कृषि प्रणालीलाई प्रविधिमैत्री बनाउनु पर्छ। यसले धेरै युवाहरु विदेश पलायबाट रोक्न टेवा पुर्याउँछ।’
यसका साथै उनले केन्द्रिय सरकारसँगै प्रदेश सरकारले चार नम्बर प्रदेशमा आफ्नै भूमिमा विभिन्न कृषिजन्य क्रियाकलापहरु संचालन गरी कृषि पर्यटनलाई समेत बढावा दिन प्रदेश सरकार योजना रहेको बताए।
पर्यटन ब्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषदले विगत १५ वर्षदेखि पोखरामा खाली रहेका ठाँउहरुमा असार १५ को दिन असारे रोपाइ महोत्सवको आयोजना गर्दै आएको छ। खाली जग्गामा बस्ती नभइ खेतीपाती गर्नुपर्छ भन्ने सन्देश महोसत्वको रहेको पर्यटन परिषद पोखराका अध्यक्ष केदार शर्माले वताए।
शर्माले प्रदेश सरकारले खेतियोग्य जमिनमा बस्ती बसाउन नदिने र गुरुयोजना सहित प्रदेश कृषिमा नै आत्मनिर्भर हुने वातावरण बनाउने दिर्घकालिन सोच अनुरुप योजनामा ध्यान पुर्याउनु पर्ने बताए।
‘पोखरामा हुने सम्पूर्ण गतिविधीहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भित्रयाउन सफल हुदै आएको छ ।’ रोपाइ महोत्वस संयोजक गोमा ढकाल भनिन् ‘अन्य पर्यटकीय गतिविधी भन्दा पनि असारे रोपाइ महोत्सवले पर्यटकीय गतिविधी संगै पोखरामा खेतीयोग्य भूमि जोगाउनुपर्छ भन्ने सन्देश दिएको छ ।’ भावी पुस्तालाई समेत धान खेती कसरी गर्ने भन्ने शिक्षा दिन रोपाइ महोसत्वस सफल भएको उनको भनाई छ।
फेवाताल किनारको रोपाइ महोत्सवमा स्वदेशीसँगै विदेशी पर्यटकहरुले हिलो खेलेर मजा समेत लिए। हिलोमा दौडने, हिलो छ्यापाछ्याप गर्ने, हिलोमा माछा समाउने, रसी तान्ने लगायतका क्रियाकलापमा सहभागीहरु रमाएका थिए।