
काठमाडाैँ – गाउँमा पसेर दु:ख दिन थालेपछि बर्दियामा एक बाघलाई नियन्त्रणमा लिइएकाे छ। बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण काेषकाे टाेली बिहीबार ४ घण्टा लगाएर बाघ नियन्त्रमा लिएकाे निकुञ्जका प्रमुख अशाेक भण्डारीले जानकारी दिए।
बाघलाई निकुञ्जकाे मध्यवर्ती क्षेत्रको ठाकुरबाबा नगरपालिका वडा न. ६ मा पर्ने मालिका मध्यवर्ती सामुदायिक वनबाट बिहीबार बिहान नियन्त्रणमा लिइएकाे निकुञ्जका सूचना अधिकारी मुकुन्द सञ्जेलले जानकारी दिए। केही दिनअघि एक स्थानियलाई घाइते बनाएकाे बाघले लामाे समयदेखि निकुञ्ज आसपासका बस्तीमा पसेर बाख्रा र गाई् भैंसीलाई मार्ने गरेकाे थियाे।
सञ्जेलका अनुसार पहिलाे पटक तीन महिनाअघि गाउँ आसपास देखिएकाे बाघले एक महिना अघिदेखि भने चाैपाया मार्ने गरेकाे थियाे। त्यसपछि बाघलाई निगरानीमा राखेकाे निकुञ्जले मान्छेलाई आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिएकाे हाे।
‘बाघ बुढाे छ, दाह्रा र नंग्रा खिइएका छन्,’ भण्डारीले भने,’बाघकाे उमेर १६ वर्षजति छ।’
बाघकाे आयु जंगलमा औषतमा १४ वर्ष हाे भने चिडियाखानामा करिब २२ वर्ष।
बुढा बाघहरुलाई तन्नेरीले जंगलबाट धपाउने र ताकत नहुँदा सजिलाे आहाराका लागि गाउँ छेउछाउ आउने गरेका छन्। याेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा नियन्त्रणमा लिएर थुनिएका बाघकाे संख्या पाँच पुगेका छ।
दुई वटा बाघ निकुञ्जकाे रम्मापुर सेक्टरमा छन् भने दुई वटा निकुञ्जकाे मुख्य कार्यालय ठाकुरद्वारामा छन्। हाल समातिएकाे बाघलाई कहाँ राख्ने छलफल भइरहेकाे प्रमुख भण्डारीले बताए। ‘यहाँ मिलाउन त मिल्छ तर साँघुराे हुन्छ,’ उनले भने, ‘बाघलाई दिनुपर्ने आहारा र स्याहारका लागि पनि समस्या हुन्छ।’
पछिल्लाे तीन वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जकाे खाता जैविक मार्गसँगै विभिन्न ठाउँबाट ८ वटा समस्याग्रस्त बाघ नियन्त्रणमा लिइएकाे छ। चार वटा निकुञ्जमै छन् भने दुई वटा बाँके राष्ट्रिय निकुञ्ज, एउटा चितवन र एउटा सदर चिडियाखाना पुर्याइएकाे सूचना अधिकारी सञ्जेलले बताए।