वीरगञ्ज – पर्सासहित तराईका जिल्लाहरुमा बुधबारदेखि चिसो बढेको छ। चिसो बढेसँगै त्यसबाट सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेको छ।
तराईका जिल्लामा बर्सेनी शीतलहरले जनजीवन कष्ठकर पार्नुका साथै कैयौंको ज्यानसमेत जाने गरेको छ। विशेषगरि कमजोर आर्थिक अवस्था भएकाहरु जाडोबाट बढी प्रभावित हुने गरेका छन्।
शीतलहरजस्ता विपद्का लागि स्थानीय तहले बजेट छुट्याएर काम गरेको दाबी गरे पनि स्थानीयले भने त्यसको महसुस गर्न पाएका छैनन्। स्थानीय तहले बेलैमा पूर्वतयारी नगर्दा सर्वसाधारणको दैनिकी असहज बन्ने गरेको छ।
शीतलहरबाट बच्नको लागि बहुदरमाई नगरपालिकाले तीन दिने तालिम सञ्चालन गरे पनि विपद् व्यवस्थापनबारे पूर्वतयारी सम्बन्धी बैठकसमेत बस्न नसकेको नगरपालिकाकी उपप्रमुख सुष्मा कुशवाहले बताइन्।
‘हामीले शीतलहरबाट बच्नको लागि हालसम्म केही त्यस्तो तयारी गरेका छैनौँ। मेयर बाहिर हुनुहन्छ। आएपछि हुन्छ,’ उनले भनिन्।
यसैगरि, जिल्लाको पर्सागढी नगरपालिकाले शीतलहरबाट बचाउनको लागि दाउराको व्यवस्था गर्ने, न्यानो कपडा बाँड्नेजस्ता कार्यक्रम राखेको नगर प्रमुख गोकर्ण पाठकले बताए। तर, प्रमुख प्रशासकीय अधिकृत बिदामा हुँदा विपद् व्यवस्थापनसम्बन्धी बैठक राखेर छलफल गर्न नसकिएको उनको भनाइ छ।
पटेर्वा सुगौली गाउँपालिकाले पनि शीतलहर चल्दा पालिकावासीलाई बचाउन के गर्ने भन्नेबारेमा कुनै पूर्वतयारी गर्न नसकेको गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले बताइन्। उनले आफूहरु बाहिर रहेकोले गाउँपालिकामा पुगेपछि बैठक राखेर छलफल गरी शीतलहरबाट कसरी पालिकावासीलाई बचाउने भन्नेबारेमा योजना बनाउने बताइन्।
पोखरिया नगरपालिकाले भने न्यानो कपडा बाँड्ने, चोक–चोकमा दाउरा वितरण गर्नेलगायतका काम गरेर शीतलहरको पूर्वतयारी गरेको नगर प्रमुख प्रद्युम्न चौहानले जानकारी दिए।
यता जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद व्यवस्थापनको बैठक गत मंसिर १९ गते बसेर शीतलहर, आगलागीजस्ता विपद्को पूर्वतयारीबारे छलफल भएको थियो।
शीतलहरबाट बच्नको लागि विशेष योजना भने सरकारले पठाउने बजेटबाटै गर्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको भनाइ छ। ‘तयारीको लागि बैठक गरिसकेका छौँ, अब सरकारले दिने बजेट आएपछि के कसरी अघि बढ्न सकिन्छ भन्ने कुरा हो,’उनले भने।

भर्खरै
लोकप्रिय






































































































































































































