वीरगञ्ज- पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका पाँच जनालाई वन संरक्षण टोलीले पक्राउ गरेको छ।
निकुञ्जमा जनावरको शिकार गर्न गएका उनीहरूलाई शिकार गरिएको जनावरको अंग र शिकारमा प्रयोग गरिने विभिन्न सामानसहित टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी, काभ्रेको नासिक गाविस ६ मालदोङ्ग तामाङ रहेका छन्।

पाँचै जनालाई पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनियास्थित वनजङ्गलमा वन्यजन्तुको शिकार गर्न गएको बेलामा पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम जानकारी दिए।
उनीहरूको साथबाट टोलीले मृत अवस्थामा रहेको जरायो र जरायोको सिंग, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद गरिको रामले बताए।

साथै बा ५ त ७८०५ नम्बरको टोयाेटा गाडी, र प्रदेश २ ०२-०३-००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिइएको छ।
पक्राउ परेका पाँचैजनाको बारेमा थप अनुसन्धान भइरहेको पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































