
बुटवल- रुपन्देहीको भैरहवामा रहेको जेल रेष्टुरेन्ट बन्द गर्ने निर्णयबाट स्थानीय प्रशासन पछि हटेको छ।
कानुनले बर्जित गरेका केही सामग्री नराख्ने र सामान्य रेष्टुरेन्टसरह व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।
उनले रेष्टुररेन्ट सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालयले बाँकी मापदण्डहरुका बारेमा अध्ययन गरेर कानुनबमोजिम सञ्चालन गर्ने दिने बताए।
जिल्ला प्रशासन कार्यालयले रेस्टुरेन्ट खोल्न अनुमति दिएको र बिहीबारदेखि नियमित सञ्चालन हुने रेष्टुरेन्टका सञ्चालक दिपु जैसवालले बताए।
गत सोमबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले देवकोटा चोकमा रहेको उक्त रेस्टुरेन्ट बन्द गरिदिएको थियो।
रेस्टुरेन्टको ढाँचा जेल जस्तो रहेको र त्यहाँ प्रयोग भएका सामग्री सुरक्षा निकायले प्रयोग गर्ने खालको रहेको र सोबारे अनुसन्धान गर्नुपर्ने भन्दै रेस्टुरेन्ट प्रशासनले रेस्टुरेन्ट बन्द गरिदिएको थियो।