काठमाडौँ-वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले गोविन्द केसीका माग सुनुवाई नगरेर केपी ओली राष्ट्र र जनविरोधी बनेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा र्यालीलाई संबोधन गर्दै अधिवक्ता भण्डारीले भने, ‘कस्तो कानून बनाउने हो संसदको कुरा हो । डा. केसीले सिकाउने हैन भन्ने उहाँहरुको तर्क छ । केपी ओलीले संविधान पढ्न र बुझ्न बाँकी छ । उहाँलाई म पहिले संविधान पढ्न आग्रह गर्दछु ।’
सार्वभौम सत्ता सम्पन्न नागरिकहरुले कस्तो कानून चाहिन्छ भनेर माग गर्न पाउने भन्दै हस्तक्षेप भयो भनेर संससदका माफियाको नाइके बन्न ओली र प्रचण्डले खोजेको आरोप लगाए ।
‘संसद पनि आफ्नो पार्टीको अंग हो भन्ने ठानिरहेका छन्, जनताको ताकत बिर्सिए । पहिला लोकतन्त्र के हो त्यो कुरा बुझनुस्, नागरिकको आवाज सुन्नुपर्छ’, अधिवक्ता भण्डारीले भने, ‘यो त्यतिकै उठेको विरोध हैन, माथेमा प्रतिवेदनका आधारमा आएको मुभमेन्ट हो । राज्यको विकास काठमाडौंमा मात्रै गरेर पुग्दैन । मेडिकल शिक्षा पढ्ने अधिकार प्रत्येक नागरिकको हो ।’
पछिल्लो समय ओली गोविन्द केसीका मागबारे जथाभावी बोल्दै हिँडेको भन्दै नसुध्रिए लोकमानकै हालत हुने चेतावनी दिए। केसीको पछाडि ३ करोड जनता रहेको भन्दै केसीलाई छोए जनता विरोधमा उत्रिने बताए । उनले भने, ‘वार्ताका लागि केसीलाई जुम्लाबाट उठाउँनु पर्दैन । हामी यही छौं वार्ता गर्नका लागि ।’