
बुटवल – भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा सैनामैना क्रिकेट क्लब डिभिजन ‘बी’बाट ‘ए’मा प्रवेश गरेको छ। बुधबार भएको डिभिजन ‘बी’को खेलमा साई ग्लोबल एकेडेमीलाई ६ विकेटले पराजित गर्दै सैनामैना ‘ए’ डिभिजनमा प्रवेश गरेको हो।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रनको मध्ययम स्कोर बनायो। उसका लागि अभिजित ज्ञवालीले ५६, सुरज यादवले १६, ऋषि रानाले १२ र आषिश रोक्काले १० रन बनाए।
बलिङमा सैनामैनाका करण विक र सन्जु बोहराले समान ३–३ तथा सुनिल पौडेल, अशोक विक र गणेश गौतमले समान १–१ विकेट लिए।
प्रतिउत्तरमा १ सय ५१ रनको सामान्य लक्ष्य पछ्याएको सैनामैनाले २३.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो र जित निकाल्यो। उसको जितमा सन्जु बोहराले नटआउट ४२, विशाल रानाले ३१, गणेश घिमिरेले २९ र करण विकले नटआउट १९ रनको योगदान दिए।
बलिङमा साई ग्लोबलका राहुल थापाले २ तथा अनिल यादव र विवेक कोहाँरले १–१ विकेट लिए। सैनामैनाका सन्जु बोहरा म्यान अफ द म्याच भइ एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए।
चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ। प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।