
काठमाडौं- दुई वटा ‘फ्याक्ट्री मेड’ पेस्तोल र ५६ राउन्ड गोलिसहित ललितपुरको नख्खिपोटबाट पक्राउ परेका रोशन लिम्बु आपराधिक समूहको हतियार डिलर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नख्खिपोटबाट एउटा पेस्तोल र पाँच राउन्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको भोलिपल्ट सोमबार ललितपुर प्रहरी परिसरको टोलीले रोशनलाई नख्खिपोटबाटै पक्राउ गरेको हो।
‘आइतबारको घटनासँग लिंक गरेर रोशनलाई पक्राउ गर्न सफल भएका हौं। उनी हतियार बेच्ने गिरोहका नाइके हुन्’, सोमबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश एेरले भने।
आइतबार काठमाडौं प्रहरी परिसरको टोलीले मेड इन जर्मनी लेखिएको एक थान पेस्तोल र पाँच राउण्ड गोलिसहित नखीपोटबाटै कृष्णबहादुर जोशी, ठाकुरराम मोक्तान र हेमराज पौडेललाई पक्राउ गरेको थियो। उनीहरुमाथि नै अनुसन्धान गरी सन्तोष पक्राउ परेका हुन्। स्रोतका अनुसार ‘स्टिङ अप्रेसन’मार्फत तीन जनालाई पक्राउ गरिएको थियो। यस घटनामा काठमाडौं परिसर र ललितपुर परिसरको टोली छुट्टाछुट्टै रुपमा विगत एक महिनादेखि यसमा लागि परेको थियो। काठमाडौं परिसरले पक्राउ गरी ललितपुर प्रहरीलाई बुझाएपछि स्थानीय प्रहरीले थप अनुसन्धान गरेको थियो। ४५ वर्षीय रोशनबाट बरामद दुवै पेस्तोल लोडेड अवस्थामा भेटिएकाले उनलाई नियन्त्रणमा लिन गाह्रो परेको अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्।
प्रहरीका अनुसार रोशनले भारतको सिलगुडीबाट हतियार किनेर ल्याएर आपराधिक समूहलाई बिक्री वा भाडामा दिने गरेका थिए। भारतमा ३० हजार भारतीय रुपैयाँमा किनेर नेपालमा ८० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको जनाईएको छ। खुमलटारका पुराना बासिन्दा रोशनले ललितपुरकै ताल्छिखेलमा रेस्टुरेन्ट सन्चालन गर्दै आएका थिए। उनको मोबाइल मर्मत पसल पनि छ।
प्रहरीसँगको प्रारम्भिक बयानमा रोशनले गुन्डा नाइके राजु गोर्खालीसँगको दुस्मनीका कारण आफुले हतियार राखेको बताएका छन्। ‘ मेरो बुबालाई राजु गोर्खालीले मारेकाले बदला लिन र आफ्नो सुरक्षाका लागि हतियार राखेको हुँ’, रोशनको भनाई उदृत गर्दै एक प्रहरी भन्छन्।