
काँकरभिट्टा-नेपालले बंगलादेशसंग सिधा व्यापार गरेको दश बर्ष पुग्दा पछिल्ला दिनमा व्यापार घाटा चुलिँदो क्रममा छ । व्यापार शुरु भएको केही बर्ष नाफामा रहेको बंगलादेशसंगको व्यापार विगत केही बर्षदेखि घाटामा जान थालेको छ । पछिल्ला केही बर्षको तथ्यांक केलाउने हो भने बंगलादेशसंगको व्यापार घाटा बढ्दै गइरहेको छ ।
नेपालले बंगलादेशसंग आर्थिक बर्ष २०५४/०५५ देखि सिधा व्यापार शुरु गरेको थियो। पूर्वी नाका काँकरभिट्टा हुँदै भारत पश्चिम बंगालको फुलबारी नाका हुँदै गरिने नेपालसंगको व्यापारमा बंगलादेशले निर्यात जन्य बस्तु बृद्धि गरेको छ भने नेपालले निर्यात गर्ने बस्तुको मात्रा तथा प्रकार बर्षेनी घट्दो क्रममा छ।
आर्थिक वर्ष २०७०/०७१ सम्ममा नेपालले बंगलादेशसंग गरेको व्यापारमा नाफा कमाउँदै आएको थियो। तर २०७१/०७२ देखि नेपालले व्यापारमा घाटा व्यहोर्दै आएको छ। उक्त आर्थिक बर्षमा एक अर्ब १५ करोड रुपैयाँ बराबरको नेपाली बस्तु बंगलादेश निर्यात गरेको थियो। तर बंगलादेशबाट दुई अर्ब ५३ करोड रुपैयाँ बराबरका बस्तु नेपाल आयात भएको थियो।
बंगलादेशसँगको व्यापार व्यवस्थापन गर्ने जिम्मा पाएको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक बर्षदेखि २०७१/०७२ देखि नेपालले घाटा व्यहोर्दै आएको छ। आर्थिक बर्ष २०७२/०७३ मा नेपालले एक अर्ब २६ करोड रुपैयाँ बराबरको माल सामान बंगलादेश निर्यात गरेको थियो भने बंगलादेशबाट तीन अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरका सामान नेपाल आयात गरिएको थियो।
आर्थिक बर्ष २०७३/०७४ मा नेपालले एक अर्ब ३ करोड रुपैयाँ बराबरका सामान बंगलादेश निर्यात गर्न सकेको थियो। तर बंगलादेश नेपाललाई ३ अर्ब ८७ करोड रुपैयाँ मूल्य बराबरका सामान बेचेको छ। चालु आर्थिक बर्षको कात्तिक मसान्त भित्रमा नेपालले ३९ करोड रुपैयाँ बराबरका सामान नेपालले बंगलादेश निर्यात गरेको छ। तर बंगलादेशले एक अर्ब ३३ करोड मूल्य बराबरका सामान नेपाललाई बेचिसकेको छ।
नेपाल र बंगलादेशविचको अधिकतम व्यापार मेची भन्सार कार्यालय काँकरभिट्टा मार्फत हुने गरेको छ। नेपालबाट बंगलादेश निर्यात हुने सामानहरुमा चिरौतो तथा अन्य जडीबुटी, डाबर नेपाल सामानहरु तथा केही अन्य उत्पादनहरु पर्दछन्। तर नेपाल आयात हुने सामानहरुमा बंगलादेशमा बनेका जुस, सुख्खा खानेकुरा, व्याट्री, चिविङ गम, होजियारी कपडा, प्लास्टिकका सामान, औषधि आदि छन्।
नेपाल निर्यात गर्ने बस्तुमा बंगलादेश फराकिलो बन्दै गएको छ भने नेपाल निर्यातजन्य बस्तुमा दिन दिनै खुम्चिँदै गएको तथ्यांकले देखाएको छ।
नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख यादव शिवाकोटीका अनुसार बंगलादेशसंगको व्यापार सहज बन्दै गएको परिस्थितिमा निर्यातजन्य बस्तुमा प्राथमिक्ता नदिएमा यो घाटा दिन दिनै बढेर जानेछ। उनले भने, ‘बंगलादेशसंगको व्यापार सहज भएन भनेर कराउने धेरै भए। तर निर्यातलाई कसरी बढाउने भन्ने कुरामा कोही तातेका छैनन्।’
मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमियाँले भारत र नेपालविचको बंगलादेशसंग नेपालको व्यापार बढाउने हो भने नेपालबाट बंगलादेश सामान निर्यात गर्ने विषयमा सरकारले चासो दिएमात्र व्यापार घाटा कम हुनसक्ने बताए। उनले भने, ‘बंगलादेशको सीमा पुग्न छोटोबाटो हुँदा हुँदै पनि सरकारले त्यतातिर ध्यान दिएको छैन।’