
वीरगञ्ज – प्रयोगविहीन होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउनुपर्ने पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बताएका छन्।
सोमबार वीरगञ्जको भन्सार क्षेत्रमा निर्मित होल्डिङ सेन्टरको स्थलगत अनुगमनका क्रममा सांसद यादवले करोडौँको लागतमा निर्मित संरचनालाई उपयोगविहीन अवस्थामा राख्न नहुने बताए।
कोभिड–१९ को महामारीका समयमा भारतबाट वीरगञ्ज हुँदै नेपाल भित्रिने यात्रुलाई चेकजाँच तथा क्वारेन्टिनलगायत कार्यका लागि निर्माण गरिएका संरचनालाई जनहितका काममा उपयोगमा ल्याउनुपर्ने पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले बताए।
उनले भने, ‘राज्यले करोडौँ लगानी गरेको संरचनालाई यत्तिकै थन्किन दिनु हुँदैन, कुनै न कुनै किसिमका जनताको हितमा हुने कामका लागि उपयोग गर्न आवश्यक छ, त्यसका लागि म सम्बन्धित निकायसँग समन्वय गर्नेछु।’
नेपाली सेनाले निर्माण गरेको होल्डीङ सेन्टरको उपयोगका लागि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्। अनुगमन टोलीमा सहभागी रहेका प्रमुख सिंहकाअनुसार महानगरबासीको हितका लागि हुने कुनै कामका लागि प्रयोजनमा ल्याउन सकिने बताए।