
वीरगञ्ज – वीरगञ्जस्थित नारायणी वयोधा मेडिसिटी अस्पतालले बिरामीबाट चर्को शुल्क असुल गरिरहेको भन्दै उक्त रकम फिर्ता गर्न जनमत पार्टीले माग गरेको छ।
जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले आइतबार विज्ञप्ति जारी गर्दै बयोधा अस्पतालमा उपचारको नाममा चर्को शुल्क असुल भइरहेको गुनासोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै असुल गरिएको चर्को शुल्क फिर्ता गर्नुपर्ने माग गरेका हुन्।
वैशाख १३ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका जितपुरसिमरा उपमहानगरपालिका–२ निवासी विजय चौरसिया र धीरज गुरुङ उपचारको लागि नारायणी वयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो।
सो उपचारको बिलमा विभिन्न असान्दर्भिक शीर्षक राखिएको तथा यस क्षेत्रमा अवस्थित अन्य अस्पतालको तुलनामा सो शीर्षकको शुल्क अत्यन्तै महँगो रहेको गुनासो पीडित परिवारको तर्फबाट पार्टीलाई प्राप्त भएको सर्राफले बताए।
उनले वयोधा अस्पतालले सम्बन्धित व्यक्तिको आर्थिक अवस्था नबुझी तथा उपचारका क्रममा हुने खर्चको पूर्वजानकारी नदिई उपचार भइसकेपछि उच्च शुल्क असुल गर्ने रवैयाप्रति खेद प्रकट गरेका छन्।
चौरसिया र गुरुङको परिवारबाट असुल गरिएको अनुचित शुल्क फिर्ता गर्नुपर्ने माग गरेका छन्। वयोधा अस्पतालले मृतक बिवयको परिवारसित ६ लाख रुपैयाँ उपचार तथा विभिन्न शुल्कको नाममा लिएको विजयका दाइ अजय चौरसियाले बताएका थिए।
उनले वैशाख १४ गते पत्रकार सम्मेलन गरी वयोधा अस्पतालले भाइको मृत्यु भइसके पनि शल्यक्रिया शुल्क एक लाख ९२ हजार, ओटी चार्ज एक लाख पाँच हजार, एनेस्थेसिया चार्ज रु ५२ हजारलगायत बिल थमाएर रकम असुलेको बताएका थिए।
चौरसियाले पनि उपचारको नाममा वयोधा अस्पतालले गैरकानुनी रुपमा रकम असुल गरेकाले सम्बन्धित पक्षसित पहल गर्न पनि माग गरेका थिए।