
पोखरा – साहुको मिटर ब्याजका कारण आफ्नो जीवन असहज भएको सुसाइट नोट लेख्दै पोखराका एक व्यापारी बेपत्ता भएका छन् ।
पोखरा सभागृह गेट नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फरिन्द्र ढुंगानाले मिटर ब्याजी साहुका कारण जीवन असहज भएको भन्दै साहुकै नाम किटेर सुसाइड नोट लेखी बेपत्ता भएका हुन् ।
इभा ट्रेडर्सका संचालक ३५ वर्षीय ढुंगाना शनिबार बेलुकादेखि सम्पर्कबिहीन छन् । उनी स्कुटर चढेर घरबाट निस्केका थिए । उनी चढेको ग २३ प ५७६८ नम्बरको स्कुटर भने पोखराको चोरसाँघु नजिकै एसओएस स्कुल अगाडि फेला परेको छ ।
पुल नजिकै स्कुटर बेवारिसे अवस्थामा फेला पर्नु, स्कुटरको डिक्किमा रहेको सुसाइड नोट भेटिनुले उनले आत्महत्या गरेको आशंका गरिएको छ । डिक्किमा भेटिएको पत्रमा उनले मिटर ब्याजी साहुका कारण अन्तिममा आफूले यो कदम उठाउनुपरेको उल्लेख गरेका छन् ।
आर्थिक समस्यामा परेको लेख्दै उनले माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता मिटर ब्याजी साहुका कारण आफूजस्ता धेरेको जीवन असहज बन्दै गइरहेको सुसाइड नोटको अन्तिम वाक्यमा लेखेका छन् ।
उनले लेखेका छन् ‘म आर्थिक समस्यामा परेको छु । माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता धेरै साहुहरुसँग कारोबार गर्नाले । १०० कडा ५०, ६०, ८० प्रतिशत सम्म ब्याज असुली गर्दै आएका थिए । यिनीहरु जस्ताले गर्दा मेरो यो हालत भयो । कोही कसैले चेक देखाएर धम्काउन मिल्दैन । किनकी यी सबैले मबाट डबल त्रिबल गरी असुल उपर गरिसकेका छन् । दुई/तीन गुण असुली गर्नेहरुले गर्दा नै समाजमा म जस्ता धेरैको जीवन असहज बन्दै गईरहेको छ ।’
श्रीमती, छोरी र एक महिने छोरो हेर्न ससुराली दाजुभाइलाई आग्रह
श्रीमती अनिता कुमारी बाँस्तोलालाई प्यारी श्रीमती भन्दै लेखेका छन् ‘मैले त संघर्ष गर्न सकिनँ तर तिमीमा त्यो क्षमता देखेको छु । अब बाकी जीवन छोरा र छोरीको जिम्मेवारी सम्हाल्दै र मैले गरेका गल्ती प्रति असहजताको समय गुजार्दै जानुपर्ने हुनाले त्यसप्रति माफी चाहन्छु माफ गरिदेउ । मैले तिमीलाई कहिल्यै सुःख दिन सकिनँ, त्यसप्रति क्षमा माग्दछु । सानु छोरा र छोरीलाई तिम्रो जिम्मामा छाडेको छु ।
उही तिमीलाई दुःखी बनाउने फरिन्द्र ढुंगाना, अलबिदा ।’
उनले श्रीमती, छोरी र एक महिने छोरो हेर्न ससुराली दाजुभाइलाई आग्रह गरेका छन् । ‘दाइ सुदर्शन पोख्रेल, हजुरलाई ठूलो जिम्मा लगाएको छु, बहिनी भान्जा भान्जीको आँखामा आँशु कहिल्यै पनि नखसाओस् भनेका छन् । सालो भाइहरु सागर र शुशिललाई दिदी र भान्जा भान्जीको कहिल्यै पनि साथ नछाडी, जस्तोसुकै परिस्थितिमा पनि दिदीको संरक्षण र हेरचाह गर्न भनेका छन् । हर व्यक्तिहरु कुटुम्ब एक हुँदैनन् । त्यसकारण सबै परिस्थितिमा साथ नछाड्नुहोला । ’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले बेपत्ता फरिन्द्रको खोजिकार्यलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले तिब्रता दिएको बताए । साथै मिटर ब्याजको विषयमा पनि अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनले भने ‘मिटर ब्याजको सन्दर्भमा कुरा के हो हामीले छानविन गरिरहेका छौं । यदि दोषी पाइएमा कसुर अनुसारको सजाय हुनेछ ।’