कसरी फसे मिटरव्याजीको फन्दामा शिवसताक्षीबासी?

कसरी फसे मिटरव्याजीको फन्दामा शिवसताक्षीबासी?
+
-

झापा – साहु महाजनबाट ऋण काडेर पैसा लिएर धितो बन्धकी राखेर अहिले सडकमा आएका नागरिकको अवस्था हेर्न झापाको शिवसताक्षी नगरपालिका क्षेत्र गए पुग्छ ।

शिवसताक्षी नगरपालिका कार्यालय जाने बाटो नजिकै एउटा घरमा ‘यो घर र जग्गा मिटरव्याजीको फन्दामा छ’ भनेर एउटा व्यानर नै झुण्ड्याइएको छ ।

सोही घरका सदस्यले आफ्नो घर जग्गा चार पटकसम्म बिक्री भइसकेको कुरा थाहा पाए, उनीहरूले घरमै ब्यानर झुण्ड्याइदिए । कोही पनि उक्त घर तथा जग्गा किनबेच गर्न नआउन भनेर सचेत गराउनका लागि ब्यानर झुण्ड्याइएको घरधनी महानन्द नेपालले बताए ।

उनले भने, ‘यति नगरे हामीलाई यो घरमा बस्न पनि नदिने भए । घर छोड्न धम्की आउन थाल्यो ।’

घर तथा जग्गा धनी नेपालका अनुसार यदि मिटरव्याजीको हितमा कुनै फैसला भए परिवार नै सडकमा आउने अवस्था छ । नेपालले भने, ‘अहिले त बसिखान दिएका छैनन् । तीन लाख रुपैयाँमा हाम्रो ८ कठ्ठा १२ धुर जग्गा जाने अवस्था छ । हामी सडकमा पुग्छौँ ।’

२०७० साल माघ १३ गते महानन्दका बुवा भवानीशंकरले तीन लाख रुपैयाँ छिमेकी खड्गबहादुर काम्बाङबाट ऋण लिए । पैसा लिएर उनले घर तथा जग्गा धितो पास गरिदिए । तर अहिले सोही जग्गाको ऋण बढेर एक करोड पाँच लाख रुपैयाँ पुगेको महानन्दले बताए ।

उनले भने, ‘७० सालको तीन लाख रुपैयाँको ऋण बढेर कसरी एक करोड पाँच लाख पुग्यो हामी नै छक्क परिरहेका छौं ।’

भवानीशंकर बैंक जस्तै धितो पास गरिदिनु पर्ने रहेछ भनेर सम्झेर घर तथा जग्गा पास गरिदिएको महानन्दको भनाइ छ । तर त्यही घर तथा जग्गा अहिले चार पटकसम्म किनबेच भएको कागजपत्रले देखाएको छ ।

सर्त अनुसार तीन बर्षपछि जग्गा फिर्ता गरिदिने खड्गबहादुरको बाचा १० बर्षमा पनि पूरा भएको छैन । बरु जग्गा नै अहिले अर्कैको नाममा पुगेको छ ।

भवानीशंकरले पास गरिदिएकै दिन बिराटनगरका अशोककुमार कोइरालालाई खड्गबहादुरले जग्गा पास गरिदिए । तीन पटकसम्म ऋणको साँवा तथा व्याज लिएर खड्गबहादुरकहाँ जाँदा ‘म्याद पुगेको छैन’ भन्दै पैसा बुझ्न नमानेको महानन्दले बताए ।

म्याद पुगिसकेपछि पनि पैसा नबुझेपछि नेपाल परिवार मालपोत कार्यालयमा गएर बुझ्दा जग्गा सुरजकुमार बस्नेतको नाममा पुगिसकेको पत्ता लगाए ।

अहिले उक्त जग्गा हिमादेवी लिम्बु र हरिमाया पौडेलको नाममा रहेको महानन्दले बताए । नगरपालिकाको न्यायिक समितिमा मुद्दा चल्दा चल्दै उक्त जग्गा लिम्बु र पौडेलको नाममा पुगेको उनले बताए । अहिले उक्त जग्गाको किनबेच रोक्का भएको छ ।

शिवसताक्षी ११ कै नारदप्रसाद दवाडीको घर जग्गामा पनि त्यस्तै प्रकृतिको व्यानर लगाइएको छ । उनको पनि जग्गा सात रुपैयाँ ऋणमा मिटरव्याजीले जफत गरेको दवाडीले बताए ।

११ बर्ष अगाडि उनका बुवा उमापतिले सात लाख रुपैयाँ ऋण अहिले सुनसरीमा बसोबास गर्ने दिनेश जबेगु र भोगचन्द्र लिम्बुबाट लिएको नारदले बताए । आफू घरबाहिर रहेका बेला झुक्याएर दृष्टिबन्धक राख्नुपर्ने ठाउँमा रजिस्ट्रेसन पास नै मिटरव्याजीले गराएको उनको भनाइ छ ।

जिल्ला अदालत झापामा उनका बुवाले मुद्दा हाले पनि उक्त मुद्दा चल्दाचल्दै बुवाको निधन भएको उनले बताए । तर उक्त मुद्दामा अदालतले मिटरव्याजीकै पक्षमा फैसला गर्यो । पछि पुनरावेदन अदालत इलाममा दवाडी परिवारले पुनः मुद्दा हाले । तर पुनरावेदनले पनि जिल्ला अदालतकै फैसला सदर गरेको नारदले बताए ।

उनले भने, ‘म सबै न्यायिक निकायमा जाँदा पनि न्याय पाइन । पीडित हुँदाहुँदै पनि अदालतले पीडककै पक्षमा फैसला गरिदियो ।’

नेपाल र दवाडी परिवार जस्ता मिटरव्याजी फन्दामा शिवसताक्षीमा करिब दुई दर्जन परिवार परेको नगरपालिकाको अनुमान छ । मिटरव्याजी पीडितलाई न्याय दिनका लागि भनेर ल्याइएको विधेयक कार्यान्वयनमा आए उनीहरूलाई न्याय दिलाउन सहज हुने नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले बताए ।

उनले भने, ‘राष्ट्रिय सभामा अड्केर बसेको विधेयक छिटो पास भइदिए उहाँहरूले न्याय पाउनु हुन्थ्यो । तर मिटरव्याजीको कब्जामा पुग्न र नागरिकलाई उठिबास लगाउन चाहिँ हामी दिन्नौं । उहाँहरूले न्याय पाउनुपर्छ भन्नेमा हामी दृढ छौँ ।’

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?