
झापा – कोशी प्रदेशमा सरकार बनाउने र गिराउने खेलमा सभामुख बाबुराम गौतम मिसिएपछि सभामुख पदको गरिमामाथि नै कालो धब्बा लागेको छ ।
नेकपा माओवादी केन्द्रका सांसद गौतम सभामुख भइसकेपछि गैरदलीय छवि बनाउनुपर्ने अवस्थामा उनी एकाएक सत्ता निर्माणको क्रम सक्रिय देखिए, जुन संसदीय अभ्यासमा कालो धब्बाको रुपमा कतिपयले चित्रित गरेका छन् ।
नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा बनेको सरकारबाट नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले खुट्टा झिकेपछि कार्कीले प्रदेशसभामा विश्वासको पाएनन्।
त्यसपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसम्मिलित गठबन्धनका तर्फबाट मुख्यमन्त्रीको दाबी पेश गर्न जाँदा एक मत नपुग्ने भएपछि सभामुख रहेका बाबुराम गौतमले पनि हस्ताक्षर गरेपछि मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशले ढालिदिएको थियो ।
नयाँ सरकार बनाउन प्रदेश प्रमुखबाट मंगलबारसम्मको म्याद पाएका सत्ता गठबन्धनका दलहरूले पुनः बाबुराम कार्ड नै प्रयोग गरेका छन् । मंगलबार अपराह्न उनले राजीनामा गरेसँगै कांग्रेसका उद्धव थापालाई सरकार बनाउन सहज भएको छ।
बाबुरामले राजीनामा गरेपछिसरकार त बन्ला तर, सभामुख पदको गरिमाका बारेमा उनले थाहा नपाएको जस्तो अनुभूति भएको धेरैको बुझाइ छ । माओवादी केन्द्रकै कतिपय नेता तथा कार्यकर्ताले ‘भूइँको टिप्न खोज्दा गोजीको खस्दैछ’ भनेर सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
उनले राजीनामा गरेपछि पुनः सभामुखको चुनावमा सत्ता गठबन्धनले सभामुख गुमाउनुपर्ने अवस्था छ । फेरि पनि सत्ता गठबन्धनले विश्वास गुमाउँछ ।
कतिपयले बाबुराम गौतमले मध्यावधि चुनावमा जान नदिनका लागि त्याग गरेको भनेर अर्थ्याउने गरेका छन् । तर उनको राजीनामाले सत्ता भन्दा सभामुख ‘केही पनि होइन’ भन्नेजस्तो सन्देश दिएको धेरैको बुझाइ छ ।
माओवादी केन्द्रकै मजदुर संगठनका एक जना नेता भूपाल सापकोटाले फेसबुकमा लेखेका छन्, ‘सभामुख पदको दुरुपयोग नगरौं । भुइँको टिप्न खोज्दा गोजीको खस्दैछ।’