
देश भनेको पनि खेतको गह्राजस्तै हो
जसको वरिपरि हुन्छ
खेतको जस्तै आली।
त्यसलाई बलियो बनाउन
चपरी थप्नुपर्छ,
फरुवाले तास्नुपर्छ,
छेउकुना मिलाउनुपर्छ।
माटो मलिलो भए
बिउ राम्रो पाए
पौष्टिक मल हाले न
तयार हुन्छ उर्वर जमिन,
अनि बन्छ, बिउ रोप्न मिलेको माटो।
खादको खोजीमा घण्टौं भौँतारिएर,
कसरी तयार हुन्थ्यो देशको माटो?
सबै फसल मात्रै हुँदैनन् खेतमा,
अनेक थरि झार पनि हुन्छन्।
ऐँजेरु पनि पलाउन सक्छन्
गोडमेल गरिरहनु पर्छ यी जंगली झारलाई।
औषधी नै पनि चाहिन सक्छ,
बाली खाने किराबाट जोगाउन,
बाँदर र जंगली जनावरबाट जोगाउन
थाल पनि ठटाउनुपर्ने हुन्छ,
चराहरू धपाउन बुँख्याचा पनि ठड्याउनुपर्छ।
त्यति गरेपछि बल्ल लाग्छ
सपनाको फूल,
अनि तिनै फूलबाट फल्छन्
लटरम्म फलहरू समृद्धिको
कसैको आँखा नलागे
कुनै कौवाले नखाए
यिनै फलहरू हुने न हुन् ठूला
अनि पाक्ने हुन्
रातापँहेला रंगमा।
अझै ढुक्क भने हुन सकिन्न,
लाग्न सक्छन् छरछिमेकीका आँखा।
रातबिरात आउन सक्छन्
चोर र डाका
चौकन्न रहनुपर्छ चौबिसै घण्टा
कटबाँसका लौरो बोकेर।
यति हुँदा पनि
लाग्छ भन्ने हुन्न
सुखको मेला
हर्षोल्लासको रोदी
नगाइन पनि सक्छ।
फसल नबिक्न सक्छ
यो गिद्धहरूको बजारमा।
बाटोभरि, कान्लाभरि
फ्याँक्नु पर्ने पनि हुनसक्छ,
रगत र आँसु चुहाउँदै।
एउटा आशाको हुनसक्छ अवसान।
देश चलाउनु र खेती गर्नु केही फरक छैन।
घरका बलियाबांगा बाहिर भौंतारिए भने,
काम गर्ने भएनन् भने
खेती नहुन पनि सक्छ,
फसल नलाग्न पनि सक्छ।
रछ्यानभरि फैलिन्छन्, तितेपातीका झ्याङ
अनि डाँडाभरि जंगलीफूलको घारी।
किसान हुनु र देश विकास गर्नु एकै हो।
झिसमिसेमा उठेर सुरु गरिहाल्नुपर्छ
सुसेधन्दा
घाम नचर्किँदै नार्नुपर्छ गोरू
खालि खुट्टामै जोतिनुपर्छ कान्लाकान्लामा
तुरुरु पसिना चुहाउँदै।
अनि न हुन्छ जोहो वर्षभरिको।
नत्र पर्नुपर्नेछ अर्कैको भर।
बस्नु पर्नेछ
भोक र शोकको गीत गाएर।