
झापा – झापाका साहित्यकार कुमार भट्टराईको फेसबुक अकाउन्ट बिहान पाँच बज्दा नबज्दा दैनिक एउटा स्टाटस आउँछ। उनको स्टाटसमा झापाको पुरानो बजार शनिश्चरेमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटालाई घरि अंकमाल गरेको, छेउमा उभिएको, घरि महाकविको टाउको समातेको तस्बिर पनि देख्न पाइन्छ।
त्यति मात्र होइन, उनका स्टाटसमा महाकविसँग उनले गरेका संवादका कुरा पनि उल्लेख भएका हुन्छन्। साहित्यप्रेमी तथा अहिलेको समाजलाई नियालिरहेका जोकोहीले उनको स्टाटस चाख मानेर पढ्ने गर्छन्।
शनिबार बिहान उनले लेखेका थिए…
देवकोटासँग प्रातःकालिन भलाकुसारी- ६१
भौतिक विकासप्रति उदासिन कुरा सुने अघिल्लो दिन ।
देवकोटालाई मैले सोधें, ‘भौतिक निर्माण विकास होइन त उसो भा ?’
उनले भने, ‘हाे ।’
मैले भनें, ‘उसाे भा, हिजाे किन निराशावादी कुरा गर्नु भएकाे त ?’
उनले भने, ‘निराशावादी हाेइन, बनिएका भाैतिक वस्तुुकाे बनिएकै क्षणबाट भत्किने क्रमकाे थालनी हुन्छ भनेकाे पाे त ।’
मैले साेधें, ‘नभत्किने के छ उसाे भा ?’
बडाे आध्यात्मिक बनेर उनले भने, ‘शुन्यता ।’
मैले साेधें, ‘शुन्यता कसरी विकास हुनसक्छ ?’
उनले भने, ‘विकासका सबै मानक भत्किन्छन् । अलिक लामाे रहने भनेकाे मानवीय विकासका क्रियाकलाप हुन् । जसले मान्छेकाे जीवनकाे परिवेश फेरिन्छ । समाज र त्यसका वरपरकाे रचनात्मक स्वरुप फेरिन्छ ।’
मैले जिज्ञासा राखें, ‘अनि शुन्यता ?’
उनले बडाे भावुक भएर भने, ‘शुन्यता ब्रमाण्ड नै हाे । त्यसकाे आकार-प्रकार पत्ताे हुन्न । त्यसैले विकासमा अंकगणित लगाइयाे भने ठूलाे अंकले थिचेर साना अंकहरु विक्षिप्त हुने प्रक्रिया चलिरहन्छ । त्यसैले चेतनाकाे विकास आवश्यक छ, जसलाई गणितीय स्वरुपमा मापन गर्न नसकियाेस् । भाैतिक विकासभित्र चेतनाकाे उज्यालाे भएन भने त्याे विकासकाे के काम ?’
बुढाका कुरा बुझे त मर्नु ।
अघिल्लो दिन शुक्रबार पनि उनले एकाबिहानै देवकोटासंगको संवाद फेसबुकमा पोस्ट गरेका थिए ।
देवकाेटासँग प्रातःकालिन भलाकुसारी- ६०
देवकाटाकाे सालिक सामुन्नेमा टायल्स लगाएर परिसर राम्राे बनिएकाे छ ।
मैले देवकाेटालाई भनें, ‘तपाईकाे परिसर त धपक्कै बल्याे, मार्बल-टायल्स लगाएकाेले ।’
उनले भने, ‘याे त निर्माणकाे निरन्तर प्रक्रिया हाे ।’
मैले साेधें, ‘तपाईं खुशी हुनुहुन्न कि क्या हाे ?’
उनले प्रतिप्रश्न गरे, ‘तिमी खुशी छाै ?’
मैले भनें, ‘म त धेरै खुशी छ ।’ अनि साेधें, ‘अनि तपाईं ?’
उनले भने, ‘आफ्ना वरपरका खुशी भए सालिक आफै खुशी भइहाल्छ ।’
मैले फेरि साेधें, ‘सालिक आफै चाहिँ खुशी हुन्न र ?’
उनले भने, ‘भाैतिक विकास निरन्तर प्रक्रिया हाे । हिजाे नयाँ लागेकाे आजै पुरानाे लाग्छ । आज नयाँ लागेकाे भाेलि पुरानाे लाग्छ । यहाँ ठडिएपछि दिनरात यहाँकाे भाैतिक-अभाैतिक परिवर्तनकाे एक्लाे साक्षी हुँ म । भाैतिक विकासकाे खुशी स्थिर हुन्न, परिवर्तन भइरहन्छ । यति स्पष्ट हुन जरुरी छ, निर्माण आफै विनिर्माणकाे शुभारम्भ पनि हाे ।’
कुराे बुझें झैं मुण्टाे हल्लाएँ ।
साहित्यकार भट्टराई ‘देवकोटासंगको संवाद’ पोस्ट गरेको निकै समय भयो। मानौँ, उनलाई लागेका कुरा तथा वितृष्णा एकाबिहानै गएर महाकवि पोख्छन् र महाकविले उनलाई सम्झाउने कोशिस गर्छन्। संवाद पढ्दा पनि त्यस्तै भान हुन्छ।
उनका स्टाटसमा कहिलेकाहीँ आक्रोश झल्किन्छ। कहिलेकाहीँ लाग्छ महाकवि देवकोटाको शालिक उनको कुरो बिसाउने थलो हो।
जब उनले स्टाटस लेख्न थाले, उनको यो अभियानका बारेमा झापाली साहित्यकारमाझ चर्चाको विषय बन्यो। उनले भन्ने गरेका छन्, ‘मेरो अभियान साहित्यमा ‘संवाद साहित्य’लाई स्थापित गर्नलाई हो।’
देवकोटा ‘प्रगतिशील’ थिए। उनका भनाइ वा लेखाइ त्यस्तै प्रकृतिका छन्। मान्छे राजनीतिक रुपमा जुनसुकै पृष्ठभूमिमा रहे पनि महाकविका मार्गदर्शन कुनै साहित्यप्रेमीले पनि नकार्न सक्दैन। साहित्यकार पनि त विभिन्न राजनीतिक चिरामा चिरिएकै छन्।
साहित्यकार भट्टराईको बिहीबारको पोष्टमा उनले शरीरको माथिल्लो भागको कपडा खोलेर देवकोटासँगको तस्बिर सार्वजनिक गरे।
त्यही पोस्टमा देवकोटाले उनलाई सम्झाउने कोशिस गरेका छन्, ‘प्रकृतिले कसैलाई कपडा सहित जन्माउँदैन। मान्छेले आवश्यकताले अंग ढाक्दै गएका मात्र हुन्। शारीरिक नग्नता, नग्नता हाेइन, त्याे त सामाजिक मर्यादा उल्लंघन मात्र हाे। नग्नता त विचारबाट झल्किन्छ, व्यवहारबाट देखिन्छ। मान्छेकाे कुरुप प्रस्तुतिले उत्पन्न गर्ने अस्थिरताबाट नग्नताकाे अनुभूति गर्न सकिन्छ। अमुल्य बस्त्र पहिरिए पनि उदाङ्ग बनेका कयाैं पात्र तिम्रै परिपरि छन्, नग्नता त त्यहाँ भटिन्छ।’
भट्टराई भन्छन्, ‘यदि आफूले माया गरेको मान्छेलाई आफ्नो देखिएन भने त्यो मान्छे ढुंगामुढाजस्तै हुन्छ। भौतिक कुरा त नासिएर जान्छ। तर अभौतिक कुरा जुन मनमा आइरहन्छन्, व्यक्त गर्न सकिँदैन। तिनै कुरालाई संवादको माध्यमद्वारा प्रस्फुटित गरिएको हो।’
उनले यही वर्षको अन्ततिर सोही संवादमा आधारित पुस्तक प्रकाशनको तयारीमा रहेको बताए।