
झापा – नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल कसरी एमालेका नेताहरूलाई भ्रस्टाचारमा मुछ्न सकिन्छ भनेर प्रयासरत रहेको बताएका छन् ।
एमाले नेता भट्टराईले अहिले चर्चामा रहेको गिरीबन्धु चिया बगानको फाइल खोलिए एमाले मुछिने नभइ सबभन्दा पहिला नेपाली कांग्रेसका नेताहरू मुछिने दाबी गरे ।
उनले भने, ‘गिरीबन्धुको फाइल खोल्नका लागि हाम्रा अध्यक्षज्यूले भनिरहनु भएकै छ । तर सबभन्दा पहिला कांग्रेसका नेताहरू यस्मा मुछिन्छन् । एमाले मुछिने अवस्था आउने भए यतिबेलासम्ममा उक्त फाइल खोलिसकिन्थ्यो । प्रधानमन्त्रीजी एमालेलाई भ्रस्टाचारमा मुछ्नका लागि दाउ हेरेर बस्नुभएको छ ।’ तर प्रधानमन्त्री प्रचण्डको त्यो सपना पूरा नहुने उनले ठोकुवा गरे ।
मंगलबार नेपाल एमाले झापाको प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित प्रचार भेला कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोलिटव्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज भट्टराईले आफ्ना पार्टीका केही नेताले अनियमित काम गरेको भए सजाय भोग्न तयार हुनुपर्ने बताए ।
उनले भने, ‘नक्कली शरणार्थी पार्टीका सचिव टोपबहादुरजी पर्नुभयो । तर उहाँले जुन बेला त्यो काम गर्नुभयो त्यो उहाँ माओवादी केन्द्रमा हुनुहुन्थ्यो ।’ चर्चामा ल्याइएका सबै नेताहरूका विषयमा छानविन गर्न उनले चुनौती दिए ।
सामाजिक सञ्जालमा नेताहरूको प्रभावका बारेमा चर्चा गर्दै एमाले नेता भट्टराईले विगतमा अन्य पार्टीका नेताहरूले सामाजिक सञ्जालमा एक प्रकारले प्रभुत्व जमाए पनि अहिले आएर त्यो प्रभाव क्रमशः घट्दै गएको बताए । अहिले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई यही विषयले छटपटी भएको उनको भनाइ थियो ।
तर, पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जालमा प्रभाव अझ बढ्दै गएको एमाले नेता भट्टराईले दाबी गरे ।