
म्याग्दी – मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड रुपैयाँ बराबरको च्याङग्रा निकासी भएको छ ।
म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५ च्याङग्रा निकासी भएको जानकारी दिए ।
मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उनले बताए ।
गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो ।
च्याङग्रा खरीद गर्नका लागि ब्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए ।
कृषकले प्रतिगोटा ४० हजार रुपैयाँको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन् ।
गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडा-च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।