
झापा – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको समृद्धिका लागि आर्थिक लगानी भित्र्याउनका लागि कानून निर्माण गर्न जस्तोसुकै जोखिम उठाउन आफू तयार रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय झापाली समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको आइतबार झापाको बिर्तामोडमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको लक्ष्य समृद्ध प्रदेश भएको बताए ।
मुख्यमन्त्री कार्कीले भने, ‘कोशी प्रदेशलाई समृद्ध बनाउनका लागि लगानी भित्र्याउन कानून निर्माण गर्न जस्तोसुकै जोखिम उठाउन प्रदेश सरकार तयार छ ।’
उनले विदेश गएर नेपालीहरूले श्रम मात्र बेचेको नभइ देशको आर्थिक प्रगतिमा सहयोग पुर्याएको बताए । उनले भने, ‘नेताहरू मञ्चमै उभिएर आफैंले आफैंलाई गाली गर्नुहुन्छ । तर नेपालीले विदेश गएर श्रममात्र बेचेका छैनन् । अनुभव र सिप पनि लिएर नेपाल फर्केका छन् ।’
अन्तर्राष्ट्रिय झापाली समाजको अभियानले कोशी प्रदेशलाई समृद्ध, सबल र सक्षम बनाउन सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे । प्रदेशमा आर्थिक समृद्धि अभियानले झापाले नेतृत्व गरोस् भन्ने आफूले चाहेको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।
दुई बर्षका लागि नयाँ समिति गठन
समाजको चौथो महाधिवेशनको बन्द सत्रले मुकुन्द ढुंगानाको अध्यक्षता नयाँ कार्यसमिति गठन गरेको छ । समितिको कार्यकाल दुई बर्षको हुनेछ ।
समाजको वरिष्ठ उपाध्यक्षमा महेन्द्र चौलागाईं सर्वसम्मत निर्वाचित भएका छन् । बाह्रदशीका चौलागाईं कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उपाध्यक्षमा चन्द्रगढीका भूपाल सिटौला निर्वाचित भएका छन् उनी अष्ट्रेलियामा शैक्षिक व्यवसाय गर्दै आएका छन् ।
त्यस्तै, उपाध्यक्षमा झापा गाउँपालिकाका चूडामणि कार्की निर्वाचित भएका छन् । उनी कतारमा बस्दै आएका छन् ।
समाजको महासचिवमा नविन पोखरेल पुनः सर्वसम्मत भएका छन् । उनी यसअघि पनि महासचिव थिए ।
बाह्रदशीका पोखरेल कतारमा वैदेशिक रोजगार सम्बन्धी व्यवसाय गर्दै आइरहेका छन् ।