
काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. र काठमाडौँ इन्ष्टिच्यूट अफ चाइल्ड हेल्थबीच सोमबार एक सम्झौता भएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधीन २ सय बेड क्षमताको गैह्र नाफामूलक बालअस्पताल निर्माण परियोजनाका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ वर्ष सम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलव्ध गराउन सम्झौता भएको हो ।
कम्पनीको तर्फबाट एक समारोहबीच कम्पनीको कार्यकारी प्रमुख सुरेशप्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम २५ लाख रुपैयाँको चेक पनि सो संस्थालाई हस्तान्तरण गरे।
समारोहमा प्रा.डा. भगवानको कोइरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्याउने उदेश्यले परियोजना सञ्चालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत बाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताउँदै यस परियोजनाका लागि वित्तिय सहयोग उपलव्ध गराएकामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।
यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशील भई विगतदेखि नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणजस्ता क्षेत्रहरुमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएको संस्मरण गर्दै काठमाडौँ इन्ष्टिच्यूट अफ चाइल्ड हेल्थबाट निर्माणधीन बाल अस्पतालको परियोजनामा योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गरे ।
अस्पताल सञ्चालनपछि नेपालका बालबालिकाहरुले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको खत्रीले बताए ।