काठमाडौँ – ओखती साबुन तपाईँ हामीले सुनेको नाम हो। ओखती साबुन २०६५ सालदेखि नेपाली बजारमा आएको हो। ओखती साबुन उत्पादन गर्ने जयकाली जडिबुटी उद्योग प्रालिका प्रबन्ध निर्देशक शोभाकान्त बस्यालले ओखती साबुन पहिला पहिला बुढापाकाहरूले भन्ने गरेको ओखतीमुलो भन्ने शब्दबाट नामाकरण भएको बताए।
बस्याल भन्छन्,‘ओखतीको पुरानो नामहरू हराउँदै गए,ओखतीको प्रयोग गर्ने मौलिक तरिकाहरू हराउँदै गएको बेलामा ओखतीको मौलिकपन नहराओस्, नेपालीपन रहिरहोस् भन्ने उद्देश्यले आफ्नो ब्रान्डको नाम ओखती राखेको हो’ १६ वर्ष अघिदेखि उत्पादन सुरु भएको ओखती साबुन नेपालसहित विश्वका अन्य देशमा पनि पुग्ने गरेको उनी बताउँछन्।
अमेरिका, युरोप, चीन, मलेसिया, दुबई, कतार, ब्राजिल, बेल्जियम, फ्रान्स, पोर्चुगल, क्यानडा, जर्मनीलगायतका देशहरूमा साबुन बिक्री हुने गरेको उनले बताए। सबैभन्दा धेरै चीनमा बिक्री हुने उनको भनाइ छ। नेपाल सरकारको नीति नहुँदा र सरकारको अस्थिरताको कारण अन्तर्राष्ट्रिय बजारमा सोचेजसरी बिक्री हुन नसकेको उनको गुनासो छ।

जयकाली जडिबुटी उद्योग प्रालिका प्रबन्ध निर्देशक शोभाकान्त बस्याल।
नेपालीहरूको सोचमा पनि परिवर्तन हुन जरुरी रहेको र हरेक सामान नेपालमा उत्पादन हुँदैन भन्ने सोच परिवर्तन गर्नुपर्ने उनको तर्क छ। विदेशको भन्दा राम्रो उत्पादन नेपालमा पनि हुन्छ भन्ने सोच राख्न उनको आग्रह छ। बजारमा गएर सामान किन्दा नेपालीपन झल्किनुपर्ने उनी बताउँछन्।
ओखती साबुन सातै प्रदेशमा राम्रो बिक्री हुने बस्यालको भनाइ छ। आफ्नो उत्पादनको बजार सहरमा भन्दा गाउँमा राम्रो रहेको उनी बताउँछन्। ‘यो साबुनको मार्केटिङ सुदूरपश्चिम प्रदेशबाट सुरु गरिएको हो। विकासका हिसाबले सुदूरपश्चिम केही पछाडि नै रहेकोले यो क्षेत्रलाई रोजिएको हो,’ उनले भने,’ओखती साबुन सस्तो भएकालेले आर्थिक अवस्था कमजोर भएकाले पनि खरिद गर्न सक्छन्।’
उनका अनुसार बजारमा ओखती साबुन ४० रुपैयाँदेखि १५० रुपैयाँसम्ममा किन्न पाइनेछ। अन्य साबुनको मूल्य बढेर धेरैमाथि जाँदा पनि ओखती साबुनको मूल्य नबढाएको उनले बताए। मंसिर १४ गतेबाट काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय व्यापार मेलामा ओखती साबुन मात्रै नभई स्याम्पु र फेसवास पनि लन्च गरेको बस्यालले बताए।
मेलामा ३५/३६ प्रकारका ओखती ब्रान्डका उत्पादन राखिएका छन्। साबुन १८ प्रकारका, स्याम्पु ४ प्रकारका, फेसवास ४ प्रकारका, चिया ३ प्रकारका लगायत अन्य धेरै उत्पादन राखिएको छ।

चितवनमा किसान परिवारका जन्मिएका बस्याल आज ओखती साबुनको प्रबन्धक बनेका छन्। उनको परिवारमा सबैजना सरकारी जागिरे छन्। जागिरले सामान्य जीवन चलाउन मुस्किल परेको देखेर सानैबाट उनी पैसा कमाउने सपना देख्थे र सानैबाट व्यवसाय गर्ने सोच बनाएका बस्याल सुरुमा मार्केटिङ गरेर देश तथा विदेश पुगेको बताउँछन्। देश विदेशमा अरुको औषधिको मार्केटिङ गर्नुभन्दा आफूले व्यवसाय सुरु गर्ने सोच बनाएर ओखती साबुन बनाउन सुरु गरेको बस्यालको भनाइ छ।
उनका अनुसार नेपालमा सबैभन्दा पहिला अमला साबुन बनाउन सुरु गर्ने व्यक्ति डा. विष्णु पाण्डे थिए। २०४० सालमा उनलाई साथमा लिएर बस्यालले काम सुरु गरेका थिए। अमला साबुनले एक्लै मार्केटिङ गर्नुभन्दा दुबै जना मिलेर जाँदा फाइदा हुने भन्दै सहकार्यको प्रस्ताव गरेपछि ओखती साबुनको मार्केटिङ सुरु गरेका थिए।
ओखती साबुन र यसका अन्य उत्पादनको लागि अहिले १० करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालन गरेको बस्यालले बताए। उद्योगमा १०० जनाभन्दा बढीले प्रत्यक्ष र १० हजार जनाभन्दा बढीले अप्रत्यक्ष रुपमा रोजगार पाएको उनको भनाइ छ। प्रत्येक प्रदेशमा ओखती साबुनको डिलर रहेको उनले जानकारी दिए।

भर्खरै
लोकप्रिय






































































































































































































