
झापा – पूर्वको पशुपतिनाथ नामले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ आइतबारदेखि सुरु भएको छ।
धामको नौ दिवसीय ४१ औं वार्षिक अनुष्ठानका रुपमा मंसिर २५ गते बालाचतुर्दशीका दिन समापन हुने गरी महायज्ञ सुरु भएको हो।
उद्घाटन समारोहका प्रमुख अतिथि, धामका व्यासाचार्य तथा अन्तर्राष्ट्रिय कथाव्यास फाउन्डेसनका संस्थापक पण्डित कुबेर सुवेदीले पानसमा दीप प्रज्वलन गरेर महायज्ञको उद्घाटन गरे।
उद्घाटन कार्यक्रम सुरु हुन अघि कलश यात्राको आयोजना गरिएको थियो।
प्रमुख कथावाचक आचार्य पण्डित बालकृष्ण अर्यालले देवी भागवतको कथा वाचन र उपवाचक पण्डित चिरञ्जीवी ढुंगानाले पाठ पारायण गरेर उद्घाटन गरेका थिए भने शंकाराचार्य संस्कृत वेद विद्यापीठ साधुटारका व्यासाचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडाले यज्ञ, धामका दाता तथा पार्वती मन्दिर निर्माता बिर्तामोड निवासी झुमा बस्नेतले ५१ हजार नगद प्रदान गरेर गल्ला प्रदान गरिन्।
उद्घाटन क्रममा अर्जुनधारा नगरपालिका – ५ निवासी सरस्वता विमली र कृष्णकुमारी चिमरियाले धान्यचल पर्वत उद्घाटन गरेका थिए।
धाममा मंसिर १९ गतेदेखि २४ गतेसम्म पतञ्जली योगपीठका प्रशिक्षकहरुद्वारा शिविर सञ्चालनसमेत हुने भएको छ।