
झापा – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित सुपारी भारत निर्यात गर्ने विषयको अध्ययन भइरहेको बताएका छन्।
विगत केही दिनदेखि गृहजिल्ला झापामा रहेका सभामुख घिमिरेले विदेशबाट सुपारी आयात गर्न दिने तर नेपालमा उत्पादित सुपारी भारत निर्यात गर्न रोक्ने प्रवृत्तिले नेपालका सुपारी किसानको हित नहुने बताए।
देशसञ्चारसँगको कुराकानीमा उनले नेपालका गुट्खा कम्पनीहरूलाई कच्चा पदार्थ दिने नाममा सरकारले विदेशबाट सुपारी ल्याइरहेको तर नेपालको सुपारी निर्यात गर्न रोक लगाएको भन्दै संसदीय समितिबाट त्यस्को गहन अध्ययन भइरहेको बताए।
उनले भने, ‘म झापा क्षेत्र नं २ को जनप्रतिनिधि पनि भएको हैसियतले मकहाँ धेरै सुपारी किसानले कुरा राख्नुभएको छ। झापामा मेरै क्षेत्रमा धेरै सुपारी फल्छ। त्यसैले यसकाे उचित समाधान निकाल्नुपर्छ।’
नेपालमा उत्पादित सुपारी नेपालका गुट्खा कम्पनीले किन किन्दैनन् भन्ने कुराको खोजी गर्नु पर्ने उनले बताए। सुपारी आयात गर्नमात्र दिने तर नेपालको सुपारी निर्यात गर्न नदिने भन्ने कुरा अवैज्ञानिक हुने उनको तर्क छ।
सुपारी किनबेचमा हुने सम्भावित चलखेलका विषयमा सतर्क हुन झापाका सुपारी किसानलाई सभामुख घिमिरेले आग्रह गरेका छन्।
उनले भने, ‘यसकाे वैज्ञानिक समाधान निकाल्नु पर्छ। आर्थिक लेनदेनका चलखेल पनि हुन नदिने र नेपालको वस्तु अन्य देशमा निर्यात पनि गर्न मिल्ने समाधान निकाल्न जरुरी छ।’