
काठमाडौँ– बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले नयाँ पुस्तालाई कृषिको शिक्षा नदिँदा युवाहरू विदेशिन थालेको बताएका छन्।
काठमाडौँमा आयोजित खाद्यका लागि कृषि अभियान कार्यक्रममा बोल्दै पाठकले गाउँमा बाटो, बिजुली, पानी, स्कुल र स्वास्थ्यको सुविधा पुग्दा पनि कृषि क्षेत्र हराएको बताए। उनले सबै कुरा गाउँमा पुग्दा गाउँमा बूढाबूढी र केटाकेटी मात्रै भएकोले गाउँ गाउँजस्तो नरहेको बताए।
उनले भने, ‘युवाहरूको कृषिप्रति आकर्षण छैन, एसलसी पास भएकाहरू पासपोर्ट बनाएर विदेश जाने र त्यो भन्दा तलका भारत जाने गरेका छन्। १५ हजार रुपैयाँ कमाउन पनि १ लाख खर्च गरेर विदेश जान्छन्। त्यति त नेपालमा राम्रो कृषि गरेर कमाउन सकिन्छ।’
सभामुख पाठकले मोबाइलप्रति व्यंग्य गर्दै भने, ‘जमाना कस्तो आयो भने सबै कुरा मोबाइलमा छ तर खानको लागि मोबाइल खाएर हुने भए मोबाइल पनि खाइन्थ्यो होला। सबै चिज आए पनि खानको लागि चाहिने खाना हो। त्यसैले हामीले कृषिलाई प्राथमिकता दिने गरौँ, पहिलो र अन्तिम चिज खाना हो।’
यस्तै सभामुख पाठकले नेपालमा थुप्रै किसिमका जडिबुटीलाई प्रशोधन गरेर उच्च मूल्यमा विदेश निर्यात गरेर करोडौँ कमाउन सकिने बताए। उनले भने, ‘लाखौँ रुपैयाँ पर्ने यार्सागुम्बा हामीसँग छ। एउटा गाउँको सबै मान्छे गएर यार्सागुम्बा टिपेर उनीहरूले आफ्नो परिवार पालेका छन्। तर सरकारले त्यसलाई बजेट छुट्टयाएको पनि छैन, सरकारले नीति पनि बनाएको छैन।’
सभामुख पाठकले नेपालको कफी र चिया संसारकै उत्कृष्ट भएको बताए। उनले भने ,‘केन्याले चिया बेचेर आर्थिक अवस्था उकास्यो। श्रीलकांले ल्वाङ लगायत अन्य जडिबुटी बेचेर आर्थिक अवस्थामा आत्मनिर्भर भयो। हामीले जुम्लाको स्याउ र मार्सी चामल बेचेर पनि हाम्रो अर्थतन्त्रलाई उकास्न सक्छौँ। हामीले हामीसँग भएको कुरालाई अनुसन्धान गरी लगानि गरेर निर्यात गर्न छोडी जुन कुरा छैन त्यही कुरालाई प्राथामिकता दिन्छौँ। अबको आवश्यकता भनेको कृषिलाई प्राथमिकता दिनु हो।’