
काठमाडाैँ – कर्णाली प्रदेश अस्पतालले सेवाग्राहीको चाप बढेपछि सेवाग्राहीलाई सहज गरिदिनको लागि अनलाइनबाटै नाम दर्ता शुरु गरेको छ।
पुस ५ गतेबाट सेवा लागू गरिएको अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्काले देश सञ्चारलाई बताए।
उनले भने ,’बिरामीलाई सहज होस भनेर याे सेवा सुरु गरेका हौँ। यसले गर्दा अस्पतालमा भिड कम हुन्छ। बिरामी पनि लाइन कुरेर बस्न पर्दैन। टिकटमा समय हुन्छ त्यही अनुसार आएपछि बिरामीलाई पनि सहज हुन्छ।’
खड्काले यो सेवा ओपीडीको लागि मात्रै भएको बताए। उनले भने,’हामीकहाँ इमर्जेन्सीको लागि भिड हुँदैन ,त्यसैले ओपीडीको लागि मात्रै गराएका हौँ।’
टेक्नोलोजीकाे जमाना भएकोले अस्पतालबाट पनि त्यहीअनुसारको सेवा सेवाग्राहीलाई दिने खड्काले बताए।
सार्वजनिक बिदाको दिन भने यो सेवा हुने छैन। सेवाग्राहीले अनलाइनमार्फत नाम दर्ता गरेर टिकट लिनको लागि बिहान ८ बजेदेखि १२ बजेसम्म पाउने खड्काले बताए।
यसरी टिकट लिएपछि बिरामीहरू नाम दर्ताका लागि ९ बजे नै अस्पताल पुग्न नपर्ने खड्काले बताए। अनलाइनबाट नाम दर्ता गरेका सेवाग्राहीका लागि अस्पतालको नाम दर्ता काउन्टरमा गएर लिन सकिने व्यवस्था मिलाइएको खड्काले बताए।
अनलाइनमार्फत नाम दर्ता गर्दा कर्णाली प्रदेश अस्पतालको वेबसाइटमा गएर गर्न सकिने छ।