
काठमाडौँ– सिटिजन्स बैंकले चितवनको श्री झुवानी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ।
शुक्रबार विद्यालयमा आयोजित एक समारोहका बीच बैंकको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप एक लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको बैंकका प्रवक्ता नारायण राज अधिकारीले बताए।
विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएको मैत्री समाज नेपालसँगको सहकार्यमा सहयोग प्रदान गरिएको हो।
समारोहलाई सम्बोधन गर्दै अधिकृत पोखरेलले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउदाँ धेरै ठूलो सहयोग नभए पनि सांकेतिक रुपमा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको बताए।