
हरेक वर्ष माघ १ गर्ते माघे सङ्क्रान्ति देशविदेशमा रहेका विभिन्न जाति तथा समुदायले धुमधामसँग मनाउँछन्। ज्योतिषशास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ।
सामान्यतया: सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि साउने सङ्क्रान्ति र मकर राशि माघे सङ्क्रान्ति प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। इतिहासकार तथा प्राध्यापक दिनेशराज पन्तका अनुसार करिब १५ सय वर्ष अगाडिबाट माघे सङ्क्रान्ति मनाउन सुरु गरिएको हो।
ज्योतिषको पहिलो ग्रन्थ ‘वेदाङ्ग ज्योतिष’ रहेको र सोअनुसार पनि १५ सय वर्षअगाडिदेखि माघ शुक्ल प्रतिपदाको महत्व समाजले बुझेको उनले बताए।
उनका अनुसार प्रतिवर्ष माघे सङ्क्रान्तिको दिनदेखि दिन बढने रात घटने तथा साउने सङ्क्रान्तिको दिनदेखि रात बढ् रने दिन घट्ने हुन्छ। अहिले भने क्यालेन्डरमा आएको परिवर्तनले २३ दिनको अन्तर हुने गरेको उनी बताउँछन्।
माघे संक्रान्तिदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ। यद्यपि हिजोआज भने पुस ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ।
माघे सङ्क्रान्तिपर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ। यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।
मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आआफ्ना यजमानकहाँ गई महिमा सुनाउँछन्।
शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घुसाउँदा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।
महाभारतका अनुसार भीष्मले यही दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए। त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ।
यस दिन खाने घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुलजस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो। यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ। नेपाली उखानै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात पुसमा पकाएर माघमा खाने भएर यस्त्तो भनिएको हो।
इतिहासकार तथा प्राध्यापक पन्तल माघे सङ्क्रान्ति पहिला भारतमा पनि मनाउने गरेको तर मुसलमान र अंग्रेजको आक्रमणले गर्दा भारतमा रितिथितिहरु लोप हुँदै गएका छन्। उनले नेपालमा पुरानो कुराको रक्षा भएकाले नेपालमा यी पर्वहरु मनाउँदै आएको पनि बताए।

माघेसंक्रान्तिको अघिल्लो दिन कालिमाटी तरकारी बजारमा बेच्न राखिएका तरुल। तस्बिर: आरजु
नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्व भए पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने गरिन्छ। यस पर्वलाई थारु जातिले नयाँ वर्ष मान्ने गर्छन् र मगर जातिले मुख्य रूपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्यारसेल्र्हेस पनि भनिन्छ। थारू समुदायमा माघीलाई मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ। यस पर्वमा छोरीचेलीलाई उपहार दिने चलन छ। यस पर्वममा थारू समुदायले सम्बन्ध प्रगाढ बनाउने दिन, नयाँ आर्थिक वर्ष, घरसल्लाह गर्ने पर्व र अगुवा चुन्ने काम गर्छन्। मगर जातिहरू बीच माघे सङ्क्रान्तिलाई मुख्य पर्वको रूपमा धुमधामसँग मनाउने चलन छ। मगर समुदायले यस पर्वलाई ३ दिन सम्म मनाउने प्रचलन छ।
यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ।
धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्त्वपूर्ण मानिने इतिहासकार पन्तले बताए।
धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइन्छ।
पूर्वी तराईका जिल्लाहरूमा यस पर्वलाई मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन्। यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने वचन लिने गर्छन्।
पश्चिम नेपालका दैलेख लगायत अधिकांश जिल्लाहरूमा यो पर्व मनाउने छुट्टै परम्परा रहेको छ। यस क्षेत्रमा मकर सङ्क्रान्तिलाई चेलीत्यार भनिन्छ । चेलित्यार भन्नाले चेलीको तिहार भन्ने बुझिन्छ। यस क्षेत्रमा पुस मसान्तका दिनमा तरुल खनेर ल्याइन्छ । पुस मसान्तको राति तरूल, बाबर सेलरोटी पकाएर पहिले कागको लागि छुट्याएर पछि घरपरिवारले खाने गरिन्छ।