
काठमाडाैँ – फुटवेयर उत्पादक सङ्घ नेपालका नवनिर्वाचित अध्यक्ष रुद्रप्रसाद न्यौपानेले सिंहदरबारभित्र नेपाली जुत्ता पुर्याउने अभियान रहेको बताएका छन्।
शुक्रबार साँझ सम्पन्न २२ औँ वार्षिक साधारणसभाबाट न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो। नवनिर्वाचित अध्यक्षले देश सञ्चारसँग कुरा गर्दै नेताले राष्ट्रियताका गफ गर्ने तर विदेशी सामाग्री लगाएर नेपालीपनलाई हेपेको बताए।
स्वदेशीपन झल्काउन मानसिक र व्यवहारिक रुपमा लाग्न उनले आग्रह गरे। उनले भने,‘नेपाली उत्पादन लगाउन पर्छ भनेर सरकारलाई घेराबन्दी गर्छौँ, उपभोक्ताहरूलाई सुसूचित गर्छौँ र हाम्रा उत्पादकहरूलाई पनि गुणस्तरीय सामान ग्राहकलाई असल मूल्यमा दिन आग्रह गर्दछौँ।’
उनले अन्य दिवस मनाए जसरी ‘फुटवेयर डे’ दिवस मनाउन सरकारलाई आग्रह गर्ने बताए। उनले भने,‘राष्ट्रपतिदेखि गाउँपालिका अध्यक्षलाई नेपाली उत्पादन लगाउन भन्छौँ र उहाँहरुबाटै अरुलाई लगाउन आग्रह गर्न लगाउँछौँ। हामीले सुरु गरेको अभियान हामीबाट सुरु गर्छौँ, जुत्ता चप्पल उत्पादकहरूका परिवारले पनि नेपालमा उत्पादन भएका जुत्ता चप्पल लगाउछौँ,’ उनले भने।
चोरी पैठारीबाट गुणस्तरहीन जुत्ता आउँदा उपभोक्ता र सरकारमा मारमा परेकाले यसको अन्त्य आफूहरुले गर्ने उनको भनाइ छ। जुत्ता चप्पल उत्पादन गर्नको लागि चाहिने ‘र म्याट्रियल’मा प्रत्येक वर्ष भन्सार दर बढाएर राज्य अव्यवहारिक भएको उनको गुनासो थियो। ‘र म्याट्रियल’मा भन्सार दर बढाउँदा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगीहरु धरायासी परेको उनले बताए।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले फुटवेयर उद्योगको दिगो विकास, स्थायित्व, संरक्षण र प्रवर्द्धनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अगाडि बढ्ने बताए।
नवनिर्वाचित अध्यक्ष यसअघि फुटवेयर उत्पादक सङ्घ नेपालका उपाध्यक्ष थिए। सङ्घको वरिष्ठ उपाध्यक्षमा सुरज बन्जाडे, उपाध्यक्षमा दीपेन्द्र थापा, जीवनकुमार श्रेष्ठ र ज्ञानेन्द्रप्रसाद दाहाल, महासचिवमा योगेन्द्र पाण्डे, उपमहासचिवमा निर्मल भट्टराई, सचिवमा शङ्करकुमार गौतम र कोषाध्यक्षमा अनुप मानन्धर निर्वाचित भएका छन्।
सदस्यमा विष्णुप्रसाद पौडेल, छविलाल पौडेल, अर्जुनकुमार गौतम, अशोककुमार श्रेष्ठ, बालमुकुन्द श्रेष्ठ, सुदिप बराल, कुमार न्यौपाने र चोलाप्रसाद पाठक निर्वाचित भएका छन्।