
झापा – झापाको बिर्तामोड –७ मा अवस्थित शहिद नेत्रलाल पार्क नेपाल सरकारको सय गन्तव्यमध्येको एक पर्यटकीय गन्तव्य हो। सय गन्तव्यमा सूचीकृत भएपछि नेत्रलाल पार्कले करोडौँ रुपैयाँ प्राप्त गर्न सफल भयो।
तर, पार्कमा गरिएको करोडौँ लगानी अहिले बालुवामा पानी सरह भएपछि बिर्तामोड नगरपालिकाले उक्त पार्कलाई सञ्चालन गर्नका लागि चासो देखाएको छ।
गरामनीबाट पूर्वोत्तर भागमा रहेको नेत्रलाल पार्क सुन्दर निचाझोडा सामुदायिक वनभित्र निर्माण गरिएको छ। सय गन्तव्यको सूचीमा परेपछि पार्कले नयाँ स्वरूप हासिल गरेको थियो।
तर, पार्कमा करोडौँ लगानी गरेर निर्माण गरिएका संरचना अहिले झाडीले ढाकेको छ, पुरेको छ। संरचना निर्माणपछि सञ्चालन नै नभइ पार्क बेवारिसे अवस्थामा पुगेको हो।
सोमबार प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संगौला, पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलगायतको टोली पार्कस्थल पुगेर सरसफाइ गर्ने काम गर्यो। नगरप्रमुख प्रसाईंले उक्त पार्कलाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने लक्ष्य लिइएको बताइन्।
नेत्रलाल पार्कमा बोटिङका लागि पोखरी निर्माण गरिएको छ। सँगै, स्वीमिङसहित चिल्ड्रेन पार्क निर्माण गरिएको छ। पार्कभित्र डाइनोसरसमेत राखिएको छ। पोखरी पातपतिङगरले पुरिन लागेको छ भने स्वीमिङ पुल प्रयोग विहीन बनेको छ।
स्वीमिङ पुल र बालबालिका खेल्ने संरचनाहरू बिग्रिसकेका छन् भने डाइनोसर प्रयोग गर्नै नमिल्ने गरी बिग्रिसकेको छ। एक जना स्थानीयबासी सोमप्रसाद खरेलका अनुसार रेखदेख नगरेकै कारण पार्क जीर्ण अवस्थामा पुगेको हो।
आर्थिक वर्ष ०७५-७६ को बजेट व्यक्तव्यको बुँदा नं. ११४ मा नेपालको पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको पहिचान तथा विकास गर्ने उल्लेख थियो। सो बमोजिम मन्त्रिपरिषद्ले झापाको शहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन र अर्जुनधारा पर्यटकीय गन्तव्यलाई सय गन्तव्यमा अटाएको थियो। अब पार्कले गति लिने बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताए।
तत्कालीन एमाले नेता नरेश खरेलको अध्यक्षतामा पार्क निर्माण गरिएको हो। खरेलका राजनीतिक सहयात्री शहिद नेत्रलाल घिमिरेको स्मृतिमा निर्माण गरिएको पार्क अहिलेसम्म सञ्चालन हुन सकेको छैन। पार्क निर्माणमा सरकारको २ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।