
काठमाडौँ– पूर्वसचिव भीम उपाध्याय सहित १८ जनालाई अख्तियार दुरुपयोगअनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
आयोगले आयोगले तीन जना पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहित १५ जना व्यक्ति र तीनवटा कम्पनीविरुद्ध ६ अर्ब ७३ करोड बराबरको बिगो कामय गर्दै मुद्दा दायर गरेको हो।
त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ। विशेष अदालतमा आइतबार दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको स्रोतले जानकारी दिएको छ।
मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगले पूर्वसचिव सञ्जय शर्माविरुद्ध रु छ करोड ९७ लाख ८३ हजार एक सय ७८, सहसचिव मुकुन्दप्रसाद पौडेलविरुद्ध पनि समान बिगो दाबी गरेको छ । खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्याय विरुद्ध रु चार करोड ११ लाख ३४ हजार दुई सय ७९ बराबरको बिगो दाबी गरिएको छ ।
खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध रु ६० करोड ४९ लाख १९ हजार आठ सय ८४ बराबरको बिगो दाबी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध रु ११ करोड नौ लाख १७ हजार चार सय ५८ बराबरको बिगो दाबी गरिएको छ।