
काठमाडाैँ- एनसेलले ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त गरेको छ।
कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागू हुने गरी आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
हाल एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनहरुको मूल्याङ्कन गरिरेहको छ। एनसेलले माघ १७ गतेसम्मको समय दिएर ७ वटै प्रदेशका ईच्छुक गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो ।
एनसेलका अनुसार देशैभरिबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जिविकोपार्जन सहयोग लगायतका क्षेत्रहरुमा विकास कार्य गर्न प्रस्तावहरु प्राप्त भएका छन्।
लागू हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने संभावना लगायतका आधारहरुमा कार्यक्रमहरु छानिने कम्पनीले बताएको छ।
तोकिएको मापदण्ड र प्रक्रिया पुर्याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रति कार्यक्रम रु १० लाख रुपैयाँ प्रदान गर्नेछ।
यस सामाजिक पहल अन्तर्गत कुल १८ आयोजानाहरु छानिने छन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागु गरिनेछन्। बाँकी चार आयोजनाहरु प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यन्वयन गरिने छन्।