
काठमाडौँ- लोकप्रिय नायिका तथा अभिनेत्री रेखा थापाले अमेरिकामा छोरी जन्माएकी छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा छोरीसहितको फोटो सार्वजनिक गर्दै उनले यसबारे जानकारी गराएकी हुन्।
उनले छोरीको नाम पनि सार्वजनिक गरेकी छन्। छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी रहेको छ।
उनले लेखेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चादीँको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ। वैभबी राज्यलक्ष्मी शाही ठकुरी।’
रेखाले २०७८ सालमा जाजरकोटका बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्।
नेपाली सिनेमा जगत्की लोकप्रिय अभिनेत्री रेखा थापा केही महिनाअघि अमेरिका पुगेकी हुन्।
याे पनि हेर्नुहाेस् : ‘म सानैदेखि क्रान्तिकारी हुँ’, रेखा थापा
केही समय अगाडि रेखा थापाको ‘बेबी प्लान’लाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रेखाबीच आरोप-प्रत्यारोप चर्किएको थियो।
पार्टीनिकट प्राज्ञिक परिषद्को कार्यक्रममा लिङ्देनले पार्टी नेतृ समेत रहेकी रेखालाई लक्षित गर्दै भनेका थिए- ‘एकजना पूर्वगृहमन्त्रीको कुरा मात्र होइन, एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो। नानी जन्माउन अमेरिका। जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ?’
लिङ्देनको उक्त अभिव्यक्ति सार्वजनिक हुने बित्तिकै रेखाले पनि अमेरिकाबाटै प्रतिक्रिया दिएकी थिइन्।
उनले लिङ्देनलाई सामाजिक सञ्जाल एक्समार्फत लेखेकी थिइन्, ‘देशको माया हुनेहरुले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो !! अमेरिकामा किन राखेको।’
उनको अर्को ट्वीट थियो, ‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ परेपछि बिरालाहरु खाबो कोतर्दै छन रे त? आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि?
यो विषयलाई लिएर सामाजिक सञ्जाल त्यो समयमा निकै तातिएको थियो।
रेखा र लिङ्देनको आरोप प्रत्यारोप भएको बेला नेपालका अन्य सांसद तथा जनप्रतिनिधिहरुको पनि अमेरिकामा छोराछारी राखेर पढाएको भन्दै आलोचना भएको थियो।
रेखा अभिनित र निर्मित फिल्म ‘उपहार’ फागुन २५ गते प्रदर्शन तयारीमा छ। उनले अमेरिकाबाटै फिल्मको भर्चुअल प्रचारप्रसार गरिरहेकी छन्।

रेखाका श्रीमान बलराम शाही ठकुरी छाेरी बोक्दै।