
झापा- साहित्यकार तथा कलाकार नीर शाहले मानव जीवनका लागि कला अत्यन्तै आश्वयक रहने बताएका छन् ।
जीवनलाई सार्थक बाँच्नका लागि कला अपरिहार्य भएको उनले बताए । सोमबार झापाको सुरुंगामा प्रथम कनकाई कला, सँस्कृति तथा साहित्य महोत्सवको उद्घाटन गर्दै उनले कला, सँस्कृति तथा साहित्य मानव जीवनलाई सार्थक बनाउने एउटा पाटो भएकाले कला, सँस्कृति तथा साहित्यको छुट्टै महत्व रहने बताए ।
उनले भने, ‘मैले यी तीनवटै विधाबाट जिउने कोशिस गरेको छु । यी मानव जातिको विकाससंग जोडिएका छन् ।’
उनले रोटरी क्लब अफ सुरुंगाले आयोजना गरेको ‘जीवन महोत्सव’को संज्ञा दिए । महोत्सव आयोजना रोटरी सुरुंगाको ‘अभूतपूर्व’ कामलाई कलाकार शाहले खुलेर प्रशंसा गरे ।
मानवजातिको उत्थान र प्रवद्धनमा मानवअधिकारकै रुपमा कला सँस्कृतिकोसमेत बराबरी महत्व हुने भन्दै यस्ता कला महोत्सवबाट मानव जीवनलले उत्प्रेरणा प्राप्त गर्ने उनले बताए ।
सुरुंगामा तीन दिने कला, सँस्कृति तथा साहित्य महोत्सव सोमबारबाट शुरु भएको हो ।
महोत्व फागुन १६ गतेसम्म चल्ने आयोजक समितिले जनाएको छ । महोत्सवको कलाकार तथा साहित्यकार शाहले सुरुंगास्थित पशुपति अंग्रेजी माविको प्रांगणमा आयोजित कार्यक्रममा उद्घाटन गरे ।
रोटरी क्लब अफ कनकाई सुरुंगाको आयोजनामा महोत्सवको आयोजना गरिएको रोटरी क्लब अफ सुरुंगाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए । साहित्य, सँस्कृति तथा कला क्षेत्रलाई समेट्दै उक्त महोत्सव आयोजना गरिएको पोखरेलले बताए ।
कार्यक्रम सुरु हुन अघि सुरुंगा बजारमा प्रभातफेरिको आयोजना गरिएको थियो । देशमा दैनिक रुपमा देश प्रेमको भावना घटदै गइरहेको र विकृत मानसिकताले भावी पुस्तामासमेत नकारात्मक प्रभाव पारिरहेको हुँदा साहित्यको माध्यमबाट थोरै भए पनि देशमा सकारात्मक अवधारणा ल्याउन महोत्सवले भूमिका खेल्ने आयोजक समितिले जनाएको छ ।
महोत्सवमा साहित्य गोष्ठी, हास्यव्यङ्ग्यसहित साँस्कृतिक कार्यक्रम, पुस्तक मेला, साहित्य गोष्ठी, कविता गोष्ठीलगायत कार्यक्रम गरिने आयोजक रोटरी क्लबले जनाएको छ ।
कनकाई उद्योग वाणिज्य संघ, कनकाई बहुमुखी क्याम्पसको सभाहलमा अन्य साँस्कृतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गरिँदैछ । महोत्सवमा कलाकारहरु मनोज गजुरेल, रचना रिमाल, साहित्यकारहरु तुलसी विवश, अर्जुन पराजुली, प्राडा रामप्रसाद ज्ञवाली, प्राडा देवी नेपाल, कवि मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, प्रदिप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गितकार शिशिर योगी लगायातका सर्जकहरुको विशेष प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ ।
कनकाई नगरपालिकामा रहेको कनकाई प्रतिभा प्रतिष्ठान, कलाकारहरु हिम्मत नेम्बाङ्ग, पवन राजवंशी लगायत कलाकारहरूलाई सम्मानसमेत गरिने जनाइएको छ ।