सामाजिक सञ्जालमा भाइरल गायिका भनेर चिनिने अन्जु विश्वकर्माकाे ” फूल केशरी” भन्ने गीत अहिले युट्युबको ट्रेन्डिङमा छ। उनका केही गीतहरू यसअघि पनि ट्रेन्डिङमा थिए।
उनको उमेर १५ वर्षमात्र भयो। उनी काठमाडौं आएको १ महिनामै ३३ वटा गीत गाइसकेकी छन् भने १० देखि १५ वटा गीत रेकर्ड हुने तयारीमा छन्। उनले गाएका धेरै गीतले राम्रो भ्युज पाएका छन्। त्यतिमात्र होइन, उनी अहिले एक स्कुलमा बसेर पढिरहेकी पनि छन्। काठमाडौंस्थित बुद्धनगरमा रहेको प्राइभेट स्कुल स्वप्न वाटिकामा उनी कक्षा सातमा अध्ययनरत छिन्।
तर एक महिना अगाडि अन्जुकाे अवस्था फरक थियो। उनी दैलेखको आठबीसकोट नगरपालिका ६ राता गाउँमा बस्थिन्। आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा उनले कक्षा आठभन्दा माथि अध्ययन गर्न पाइनन्।
‘बाबा ममी पनि वृद्ध हुनुहुन्छ, दाइहरू सबै भारतमा गएर कमाएको पैसाले खाना पनि पुग्दैनथ्यो अनि ठाउँ पनि विकट थियो। त्यही भएर पढाइलाई अगाडि बढाउन पाइँन, ‘ उनले भनिन्।
याे पनि पढ्नूहाेस् : अनि उनले सांसद्लाई भने- मारे मार्नुस् तर एकपटक यो हिलोमा हिँड्नैपर्छ…
अन्जुका ४ दाइ, एक दिदी र १ भाइ छन्। उनका दाइ मीन विश्वकर्मा काठमाडौंमा मजदुरी गर्दै गीत गाउने प्रयास गर्थे। उनी भ्वाइस अफ नेपाल सिजन ५ मा प्रतिस्पर्धा गर्नको लागि गएका थिए। पछि नकआउट राउन्डमा गएर बाहिरिए।
याे पनि पढ्नूहाेस् : हरेकसँग १ रुपैयाँ उठाएर पूरा हुँदै छ यी युवकको पाइलट पढ्ने सपना
मीनले युट्युबर पारस भट्टराईमार्फत् आफ्नी बहिनीको प्रतिभालाई पनि बाहिर देखाउन चाहन्थे। पारसले राजधानी बाहिरका प्रतिभालाई आफ्नाे युट्युब च्यानलमार्फत् उजागर गर्दै आएका छन्।
एकदिन मीनले पारसको ह्वाट्सएप नम्बरमा मेसेज गरेर अन्जुको प्रतिभाको बारेमा जानकारी दिएका थिए। पारसले देश सञ्चारसँग भने, ‘हामीले युट्युबमा राखेकाे ह्वाट्सएप नम्बरमा धेरैको मेसेज आउँथ्यो। अन्जुको दाइले पठाएको मेसेज हेरें। मेरो बहिनीको पनि गीत गाउने रहर छ, उसले राम्रो गाउन सक्छ, एकचोटि गएर हेर्नुहोस् न् भनेर लेख्नुभएको थियो। उहाँले बहिनीले गाएको भिडियो पनि पठाउनुभएको थियो। त्यसपछि हामिले अन्जु बहिनीलाई भेटेका हौं।’

युट्युबर पारस र अन्जु विश्वकर्मा
त्याे समय पारस काठमाडौंमै थिए। अन्जुका दाइले भनेपछि उनी दैलेख जान खोजे तर काठमाडौंबाट भूगोलको हिसाबले टाढा भएको हुनाले उनले अन्जुलाई सुर्खेत वा नेपालगञ्जसम्म आउन आग्रह गरेका थिए।
त्यसको केही समयपछि अन्जुको नेपालगञ्ज आउने काम परेको र पारस पनि त्यो समयमा नेपालगञ्ज भएको हुनाले आफूले भेटेर अन्जुको अन्तरवार्ता लिएको पारसले बताए। त्यो अन्तरवार्तामा अन्जुले गीत पनि गाएकी थिइन्।
याे पनि पढ्नुहाेस् : भ्वाइसमा विजेता हुनका लागि क्षमता र पैसा दुवै हुनुपर्छ, दर्शकले गरेको भोटले मात्र जित्न गाह्रो हुन्छ।
अन्तरवार्तामा गाएको गीत मन परेपछि काठमाडौंबाट पारसले अन्जुलाई बोलाएका थिए। अन्जु काठमाडौं आइसकेपछि बर्दियाका कलाकार कमल बिसी माल्दाइ र उनले डोरी बाटेर नामको गीत गाएका थिए। त्यो अन्जुको पहिलो गीत थियो। त्यो गीत पनि केही समयसम्म युट्युबको ट्रेन्डिङमा थियाे।

युट्युबर पारस, अन्जु विश्वकर्मा र अन्जुका दाई मीन विश्वकर्मा
याे पनि पढ्नूहाेस् : सम्भावना हुँदाहुँदै केले रोकेको छ नेपालमा मरिच फलाउन?
अन्जु हाल उनले पढिरहेको स्कुलको होस्टेलमा बसेर पढिरहेकी छन्। अन्जुले कलाकार तथा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको इन्द्रेणी फाउण्डेसनमार्फत् स्कुलमा पढिरहेकी हुन्।
पारसले कृष्ण कँडेलले अन्जुलाई पढाउने खर्च जाेहाे गरिदिने संकल्प गरेकाे जानकारी दिए।
अन्जुले कक्षा १० सम्म त्यहीं स्कुलमा इन्द्रेणी फाउण्डेसनमार्फत अध्ययन गर्नेछन्। उनकाे भविष्यमा संगीत सिकेर अब्बल गायिका बन्ने लक्ष्य छ।