भोलि मलाई केही भइहाल्यो भने के गर्छस्?

भोलि मलाई केही भइहाल्यो भने के गर्छस्?
+
-

मेरो पुस्ताले यहाँ सम्भावना नदेखेर कि रहरले हो नेपालबाट विदेश गएर त्यतै बस्ने परम्पराको अगिल्लो पुस्ताले बनाएको गोरेटोलाई राजमार्ग नै बनाईदियो भन्दा पनि हुन्छ । त्योभन्दा पहिले केहीकेही औंलामा गन्न सकिने मानिसहरुमात्र विदेशमा गएर बस्थे । कति त फेरि त्यहाँ बसेर फर्किएर पनि आउँथे । कोही कोही आइजाइ पनि गर्ने गर्दथे । तर जाने व्यक्तिको भाग्य अथवा यो देशको दूर्भाग्य, मसँग विद्यालय र विश्वविद्यालय पढेका धेरै साथीहरु लर्को लागेर विदेश गए । विदेश गएका मात्र होइनन्, त्यहाँकै स्थायी बासिन्दा बने । मैले अहिले आफूले पढेका साथीहरुको हालखबर सोध्न मोबाइलमा फोन गर्ने हो भने धेरैजसोको लागि विदेशी नम्बर प्रयोग गर्न पर्छ । मिल्ने साथीहरुको कुरा गर्ने हो भने साह्रै थोरै साथीहरु मात्र नेपालमा बसेर ‘दुःख बेसाइरहेका छन् ।’ अझ तिनीहरुमा पनि स्कूल पढेका साथीहरु यहाँ धेरै भेटिन्छन् ।

जुन बेला मेरा साथीहरु आफ्नो उज्ज्वल भविष्यको खोजीमा विदेश जाने ध्याउन्नमा थिए, म भने सुटुक्क आश्रमतिर आएँ । यो सबैका लागि अनौठो विषय थियो । सुरुमा अधिकतम मान्छेहरु मसँग खुशी पनि थिएनन् । आश्रम आएँ मात्रै होइन कि सारा जीवन आश्रमकै साधुसन्यासी बनेर बिताउँछु भनेर अनौठो निर्णय लिएँ । यसमा मेरा गुरुको संरक्षण र मार्गदर्शन सबैभन्दा मुख्य रह्यो ।

स्वामी चन्द्रेशसँग स्वामी गुञ्जन।

म मुख्यतया: गुरुदेव स्वामी चन्द्रेशजी महाराजका साथमा रहेर आश्रमको सेवा कार्यमा व्यस्त रहन्थें । स्कूलको हेरचाह, गुरुदेवले गर्नु हुने कार्यहरुमा सहयोग गर्नु, निर्माण कार्य गराउनु र आश्रमको व्यवहार यिनै मेरा मुख्य देखिने कामहरु थिए । बिहान बेलुकाको समयमा भने म साधना, अध्ययन गर्दथें ।

म आश्रममा आउनुभन्दा केही समय पहिलेदेखि नै देशमा सशस्त्र द्वन्द्व सुरु भइसकेको थियो । एउटा लामो कालखण्ड यो देशमा हिंसा हत्याका अनिष्ट समाचारहरु उत्पादन भइरहन्थे । गुरुदेव र म यी विषयहरुमा चर्चा गर्दथ्यौं । दुःख पनि लाग्दथ्यो । कहिले कहिले यस्ता विषयहरु रातिसम्म पनि चर्चा गर्दथ्यौं । जुनसुकै विषयहरुको समग्र पक्षलाई लिएर चर्चा गर्न गुरुदेवलाई साह्रै आनन्द लाग्थ्यो । रात निकै बितेपछि हाम्रो निष्कर्ष हुन्थ्यो – इतिहासमा हरेक समाज र देशले यस्ता किसिमका प्रतिकूल परिस्थितिहरुको सामना गरेका छन् । एकैपटक कुनै पनि समाज अचानक प्रगति गर्न सक्दैन । अफसोचको कुरा के हो भने यस्तै घटनाहरुहरु घटेको कालखण्ड हामी यस देशमा रहेका छौं, बाँचेका छौं । हामीसँग कुनै विकल्प पनि त छैन ।’ यस्तै कुरा गरेर हामीहरु मन बुझाउँथ्यौ । ‘जा सुत्न । रात धेरै भइसक्यो ।’ गुरुदेव भन्नुहुन्थ्यो र म विदा भएर सुत्न आउँथे ।

बि. सं. २०६२/०६३ को जनआन्दोलन र शान्ति प्रक्रियाको शुरुवातसँगै यस देशका आम नागरिकहरुमा एउटा आशा जागेको थियो । अब कुनै अपहरण, हत्या र हिंसाका समाचार सुन्न पर्ने छैन । चन्दा आतङ्क बन्द हुनेछ । त्यसपछि देशमा सुख, शान्ति र समृद्धि आउनेछ । आशा नै त जीवन हो । केही नभए पनि आशा छोड्न सकिंदो रहेनछ ।

स्वामी गुञ्जन।

तर दुःखको कुरा के भयो भने देश भरि फैलिएको यो द्वन्द्व समाप्त हुन लाग्दै गर्दा विभिन्न गुट उपगुटहरुले फेरि अपहरण, हत्या र चन्दा आतङ्कका घटनाहरुलाई जारी राखे । देशभरि नफैलिए तापनि केही ठाउँमा अझ मधेशमा यस्ता घटनाहरु अत्याधिक हुन थाले जसको शिकार हाम्रो परिवार पनि भयो ।

एकदिन बिहानै मेरी बहिनी कविता लम्सालले मलाई इटहरीबाट फोन गरेर – ‘समाचारमा केही सुन्नुभयो ?’ भन्ने अनौठो प्रश्न गरी ।

– छैन ।’ मैले जवाफ दिएँ । ‘के भएको हो ?’ मैले उत्सुकता र हडबडीमा सोधें ।

– भाइ (अञ्जन लम्साल) लाई काठ किन्न जाँदा अपहरण गरेर गरेर लगेको छ । ठूलो पैसा माग गरेको छ । पैसा नदिए जिउज्यानको खतरा छ’ भनेको छ ।

मैले तुरुन्तै केही पनि जवाफ दिन सकिँन । घरमा मेरो त्यसबेला उति सम्पर्क हुँदैनथियो । यो समाचार मेरा मनमा भारी भएर बसिरह्यो । म यहाँ आश्रमबाट केही पनि गर्न सक्ने अवस्थामा नै थिइँन ।

गुरुदेव आफ्नो नित्य साधनाबाट बाहिर निस्किएपछि उहाँलाई यो खबर सुनाएँ । म हडबडाएको र आत्तिएको थिएँ । त्यस बेला ती समूहहरुले भनेको शर्त नमान्नेहरुको ज्यानै लिने गरेको घटनाहरु पनि सुनिन्थे । मेरो भाइसँग गुरुदेवको राम्रो चिनजान थियो । ऊ काठमाडौं आउँदा यहाँ आश्रममा पनि बस्थ्यो । गुरुदेव, ऊ र उसकी श्रीमती एकदिन दिनभरि बूढानीलकण्ठ नजिकैको डाँडामा हिंड्न पनि जानुभएको थियो ।

मेरो हडबडी देखेर होला गुरुदेवले मलाई प्रश्न गर्नुभयो – मलाई भोलि केही भइहाल्यो भने के गर्छस् ?’ एउटा वास्तविक दुःखद समाचार त छँदैछ, त्यसका साथमा मेरा सामु अर्को काल्पनिक समाचार पनि थपियो । गुरुदेवलाई अरु केही कुरा भन्न मनै लागेन । किनभने यी दुबै घटना कुनै दिन वास्तविक हुन पनि सक्थे । मृत्युलाई कसैले पनि टार्न र छल्न सक्दैन । एकछिनपछि गुरुदेवले सल्लाह दिनुभयो, ‘गणेशको मन्त्र जप गर । धेरै चिन्ता नगर ।’

मनमा बेचैनी र छटपटी छँदैथियो । मैले घरिघरि इटहरीमा बहिनी कवितालाई फोन गरिरहें । भाइलाई भारतको बोर्डर नजिकैको कुनै गाईकटेरोमा लगेर राखेको जस्तो खबर सुनियो । पैसा लिएर आउनु भनेको रहेछ । बुबा पूर्वाञ्चलको नाम चलेको पत्रकार भएको हुँदा उहाँले आफ्नो परिचयलाई प्रयोग गर्नुभएको हुनुपर्छ । अन्त्यमा बहिनीलाई फोन गरेर घरमा सुनाउन भनें, ‘मैले मेरो कुनै अंश लिएको छैन । मेरो अंशमा जे पर्छ त्यसलाई प्रयोग गरेर भाइलाई बचाउन र ल्याउन सकिन्छ त्यसको प्रयोग गरे हुन्छ, मेरो मञ्जूर छ ।’ यो त मेरो आवेगको कुरा थियो । त्यहाँको धरातलीय यथार्थता आफ्नै खालको थियो होला ।

पछि उनीहरुले भनेको जति पैसा बुझाएर भाइलाई फर्काएर घर ल्याइयो भन्ने खबर सुने पछि मेरो मन ढुक्क भयो । जीवनशैली जे भए पनि कसैको पनि अनिष्ट नहोस् भन्ने शुभ इच्छा हुनु मानवीय धर्म हो ।

तर त्यसदिन दिन गुरुदेवले वास्तविकतालाई कुनै श्रृङ्गार नगरी भन्नुभएको, ‘भोलि मलाई केही भइ हाल्यो भने के गर्छस् ?’ भन्ने वाक्यलाई मैले भुल्न सकिंन । गुरुदेवले सङ्केत गर्नुभएको थियो कुनै दिन हामी दुई पनि एक आपसमा छुट्टिन्छौं । सङ्केत त के भन्नु, ‘म नहुँदाखेरि तँ एक्लै हुनेछन् । त्यसका लागि पनि तयारी भएर बस्नू । शोकले कमजोर नहुनू’ भन्ने गुरुदेवको स्पष्ट आदेश थियो । भाइको दशा त भलै टरेर गयो तर कुनै कारणले कसैका साथमा पनि वियोग हुनसक्छ, तयार भएर बस्नुपर्छ भन्ने वास्तविकतालाई सधैंभरि साथै राखेर बाँच्नुपर्छ भन्ने शिक्षा मलाई गुरुदेवले दिनुभयो । त्यो सत्यको वज्र कुनै न कुनै एकदिन ममाथि प्रहार हुनसक्छ भनेर उहाँले मलाई सावधान गराउनु भयो ।

आजका दिनमा गुरुदेव स्वामी चन्द्रेशजी महाराज र भाइ अञ्जन लम्साल दुबै जना यस लोकमा हुनुहुन्न । २०७९ साल जेठ महिनामा अचानक भएको हृदयाघातले ४३ वर्षको उमेरमा मेरो भाइको मृत्यु भयो । यता पाँच वर्ष नौ महिनासम्म निरन्तर डायलायसिस गरे पछि २०८० साल श्रावण २९ गते गुरुदेवले पनि शरीर त्याग्नु भयो ।
जुन सम्भावित घटनाको म २०६४ सालतिर कल्पना पनि गर्न चाहन्न थिएँ, ती घटना एकदिन घटेर नै छाडे । त्यतिखेर मैले गुरुदेवलाई जवाफ दिने अवस्थामा म थिइँन। तर अहिले सम्झन्छु जुन वास्तविक सत्यका बारेमा मलाई गुरुदेवले प्रश्न गर्नुभएको थिया ‘म नभए के गर्छस् ?’ त्यसको जवाफ मैले पनि त्यति नै वास्तविक दिन उपयुक्त हुँदो हो, ‘म जीवन भएसम्म बाँचिरहन्छु ।’ साँचो पनि त्यही हो । आज उहाँहरु दुबैजना नहुँदा पनि म यस धर्तिमा बाँचि नै रहेको छु । मेरो भाग्यमा बाँच्न लेखेर, अझै दुःख बेसाउन बाँकी भएर, अझै मैले भोग्न र देख्न बाँकी भएर हो कि अथवा यी सबै कारणले हो कि म यहीं नै छु ।

जब बिमारीका कारणले कहिले कहिं गुरुदेव दुःख मानेर, ‘अब कति बस्ने ?’ भन्नुहुन्थ्यो त्यति खेर मैले पनि गुरुदेवलाई प्रश्न गरेको थिएँ, ‘हजूर नहुने हो भने मैले के गर्ने? हजूर हुनुहुन्छ भनेर नै म यहाँ आएको हुँ, हजूर खुशी हुनुुहुन्छ भनेर कुनै काम गर्न उत्साह हुन्छ, जाँगर हुन्छ ।’ मेरा यस्ता भावुक कुराहरुलाई गुरुदेवले अत्यन्त यथार्थपरक जवाफ दिनुभयो, ‘तेरो अझै आयु छ, शरीर स्वस्थ छ, शक्ति छ अझै काम गर्न सक्छस् ।’ मलाई सम्झाउनु हुन्थ्यो । जहिलेसम्म सकिन्छ, तैलेसम्म कर्म गर्नुपर्छ र जिउनुपर्छ भन्ने गुरुदेवले बाँच्नु भएको जीवनको सन्देश थियो । उहाँ अरुहरुको जीवन पनि यसै गरी सफल होस् शुभेच्छा राख्नुहुन्थ्यो ।

२०८० फागुन ७, बूढानीलकण्ठ आश्रम

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?