
झापा- झापा गोल्डकपका विगतका संस्करणहरू झैं यस पालीको छैटौं संस्करणका खेलहरू धमाधम भइरहेका छन्। सोमबारसम्ममा तीन खेल भइसकेका छन्।
उद्घाटन खेलको एउटा टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले सोमबार सेमिफाइनल प्रवेशका लागि बागमती युथ क्लबसंग प्रतिष्पर्धा गरेको थियो। तर सोही प्रतिष्पर्धामा एपिएफ क्लबको व्यवस्थापन यति कमजोर देखियो कि सबै दर्शकले आलोचना गरे।
बागमती युथ क्लबका खेलाडी रातो जर्सीमा मैदान उत्रिएका थिए। एपिएफका खेलाडी खैरै रंगको जर्सीमा मैदानमा उत्रिए। तर उनीहरूले लगाएको जर्सी दुई रंगको देखियो। केही खेलाडीको त जर्सी नम्बर पनि थिएन।
जर्सी नम्बर नभई प्रतिष्पर्धाका लागि मैदान पस्न नपाइने भएकाले टेप टाँसेर मैदान छिराइयो। तर त्यो धेरैबेर टिक्न सकेन। पटक-पटक रेफ्रीले जर्सी नम्बर लेखाउन खेलाडीलाई बाहिर पठाउनु पर्याे। जस्का कारण खेल पटक-पटक रोक्नुपर्याे।
टेप जति टाँस्ने कोसिस गरियो, टिकेन । पुनः कालो मार्करले जर्सी नम्बर लेखियो। त्यतिबेला दर्शकले सशस्त्र प्रहरीको व्यवस्थापनविरुद्ध हुटिङ गरेका थिए।
खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा प्रतिक्रिया दिँदै विजेता टिम प्रशिक्षक सुमन श्रेष्ठले झापाजस्तो प्रतिष्ठित गोल्डकपमा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको स्वीकारे।
टेपिङका कारण खेलाडीले अपेक्षाकृत खेल्न नसकेको बताए । उनले भने, ‘त्यही कारण पनि हाम्रा खेलाडीमा मनोवैज्ञानिक असर पर्याे।’