
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बार्यन म्युनिखले क्वाटरफाइनलमा स्थान बनाएको छ।
पहिलो लेगमा इटालियन क्लब लाजियोसँग १-० ले पछि परे पनि दोस्रो लेगमा ३-० को जित निकाल्दै बार्यनले समग्रमा ३-१ को जितसहित क्वाटरफाइनलमा स्थान बनायो।
बार्यनको घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा ह्यारि केनले दुई गोल गर्दा बार्यनको संकट टरेको थियो। यसअघि रोममा भएको पहिलो लेगमा बार्यन १-० ले पछि परेको थियो। तर घरेलु मैदानमा पुनरागमन गर्ने क्रममा केनले ३८ औं मिनेटमा टीमका लागि पहिलो गोल गरेका थिए। पहिलो हाफमै अग्रता दोब्बर बनाउने क्रममा थोमस मुलरले पहिलो हाफको इन्जुरी समयमा गोल गरे।
दोस्रो हाफमा पनि लाजियोविरुद्ध उत्कृष्ट प्ररदर्शन निरन्तरता दिएका केनले ६६ औं मनेटमा टिमका लागि तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले क्वाटरफाइनल यात्रा सहज बनाएको थियो।
प्रि क्वाटरफाइनलअन्तर्गत आज राति म्यानचेस्टर सिटी र एफसि कोपनहेगन तथा रियल म्याड्रिड र आरबी लेइपजिङ प्रतिस्पर्धा गर्दैछन्। पहिलो लेगमा सिटी ३-१ ले अघि रहँदा म्याड्रिड १-० ले अघि रहेको छ।