
तीसको दशक । भक्तराज आचार्यको भव्य भाकाले भावविभोर दशक । कतै भक्तिभावले भरिएका भजनमा आध्यात्मिक चेतना टुसाइरहेका हुन्थे । कतै शास्त्रीय स्वादयुक्त सुगम संगीत सुसाइरहेका हुन्थे ।
आचार्यको आवाजमा आत्मिक आरोह अवरोह थियो । आचार्यको स्वरसाधनामा जीवन र जगत्को अजम्बरी मोह थियो । त्यसैले त उनका गीतहरू मान्छेका मनबाट झरेका छैनन् । त्यसैले त उनका लयहरू अकाल मृत्यु मरेका छैनन् । शाश्वत स्वर संगीत सूर्य हो । सूर्यको सुयश कालजयी हुन्छ ।
भक्तराजको मुटु जलिरहेछ सुनेपछि मलाई पनि एउटा रहरले पोल्न थाल्यो । आफ्नो गीत समवयी साथीको सुरिलो स्वरमा सजाउने सपना देख्न थालेँ । एक दिन रेडियो नेपालमा भक्तराजसँग भेट भयो । नातिकाजीले हाम्रो परिचय गराएका थिए । पहिलो भेटमा मैले आफ्नो रहर पोखेँ । भैहाल्छ भनेर भक्तराजले मेरो भावुक भरोसा भुइँमा खस्न दिएनन् ।
गोरखापत्र वा कुनै छापामा छापिएको तर नगाइएको एउटा गीत थियो मसित । गीतको स्थायी बोल यस्तो छ –
उस्तै उस्तै पानी बग्ने धेरै धेरै खोला पाइन्छ
तर मलाई हिमचुलीको पानी बग्ने खोला चाहिन्छ ।
यो गीत भित्रको एउटा अन्तराको बारेमा केही गीतकार साथी र समालोचकले अलिकति नकारात्मक टिप्पणी गरेका थिए । बिस्तारवादी सोंचको दिवास्वप्न तथा छरछिमेक चिढाउने प्रयास भनेका थिए । त्यो अन्तरा यस्तो छ –
यो मन मेरो के के भन्छ
तराई ठूलो पारौं भन्छ
कैले हिमाल उचालेर
अझै माथि सारौं भन्छ ।
आफूलाई राम्रो लागेको तर छिमेकीका खेतालाले नराम्रो मानेको गीत गाउन दिएर स्वच्छ स्वर–संगीतका स्रष्टा भक्तराज पो विवादमा पर्ने हुन् कि भन्ने डर पनि लाग्यो । तर सोचेँ – केही अपवाद बाहेक सबै नेपालीको मन मेरैजस्तो त हो नि । के फरक पर्छ र ! दिन्छु । भक्तराज आचार्यलाई यही गीत दिन्छु ।
यस्तो निर्णय पश्चात गीत पठाईदिएँ । भक्तराजले पनि भएभरको सीप लगाएर स्वर–संगीत सजाए यसमा । एउटा तीतो गीत । उनले छोएपछि मीठो भयो । खुबै बज्यो र बजिरहेछ देशमा ।
विस्तारवादी सोच राखेर दिवास्वप्न देख्ने, लेख्ने र बकबक गर्ने यो गीतकारको जिब्रो काटिनुपर्थ्यो। तर दैवले त तीतो गीतलाई मीठो बनाएर देश गाउने भक्तराजको जिब्रो पो काट्यो । धिक्कार भन्छु !
अनि अन्त्यमा –
मान्छेहरू भक्तराजलाई भजनशिरोमणि भनेर उनको बहुआयामिक र विशालमना प्रवृत्तिलाई आध्यात्मिक सुँगुरी भन्ज्याङमा खुम्च्याउन खोजिरहेछन् । धेरै भजन गाए भन्दैमा एउटा भर्सटायल गायकलाई भजनमण्डलीको नायक भन्न मिल्ला र ?
(अधिकारीले भक्तराज आचार्यबारे गरेको पूर्वप्रकाशित टिप्पणी।)