
काठमाडौँ- ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘मबाट महिलावाद अन्तर्गत’ विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
सेन्टर फर रिप्रोडक्टिभ राइट (सीआरआर), केयर, निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म (एचपीपी)र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।
प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत संगीत तथा अन्य प्रस्तुतिकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गरिएको थियो चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारबारे प्रत्यक्ष चित्र बनाएका थिए। उनले अतिथिहरुबाट थिम लिएर दुईवटा चित्र बनाएका थिए। उनको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए।
विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीहरुले नाटक प्रस्तुत गरेका थिए। नाटक हेरेर दर्शक भावुक बनेका थिए। समाजिक परिवेशमा हसाउँदै उनीहरुले विषयवस्तु गहन ढंगले उठान गरेर बुझाउने प्रयास गरेका थिए।
कवितामार्फत् मुनु अधिकारीले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी वास्तविकता पीडा अभिव्यक्त गरेकी थिइन्। कोपी र्यापरले प्रस्तुत गरेको र्यापमा दर्शकले सन्देशसंगै आनन्द लिएका थिए। उनको र्याप गीतमा महिलालाई सचेत गराइएको थियो।
उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गरेका थिए। यसैगरी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापति जयन्ती राईले विपद्मा प्रजनन स्वास्थ्य र अधिकारबारे ऐन निर्माणमा आफूले भूमिका खेल्ने बताइन्।
एफडब्लुएलडीका अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु, अधिकारकर्मी, विभिन्न कलेजका कानुन अध्ययन गरिरहेका विद्यार्थीहरुको उपस्थिति थियो। ‘महिलामा लगानीः सभ्य र समुन्न समाजको थालनी’ लाई ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको मूल नारा बनाइएको ।