कोरियोग्राफर स्मृति तिमिल्सिना, जो हिरोइन बन्न काठमाडौँ आएकी थिइन्

+
-

एक दशकभन्दा अघि हिरोइन बन्न काठमाडौँ आएकी थिइन् स्मृति तिमिल्सिना ।  उनको जन्मघर नवलपरासीको सुनवल हो। बुबा इन्डियन आर्मी। परिवारमा कोही थिएनन् कलाकार । १३–१४ वर्षमै कोरस डान्सरबाट सुरु भएको थियो उनको करिअर। त्यसपछि सहायक निर्देशक र अहिले निर्देशक तथा कोरियोग्राफर बनेकी छन्।

उनी गीत गाउनुका साथै मोडल पनि गर्छिन्। उनले गाउने र नाच्ने पेसालाई रहरको रुपमा हेर्छिन्। उनको मुख्य पेसा बनेको छ म्युजिक भिडियो निर्देशन। आमा–बुबा भने स्मृतिलाई सरकारी कर्मचारी भएको हेर्न चाहन्थे। सुरुमा उनलाई नाच्ने केटी ‘नर्तकी’ भनेर घरका र गाउँकाले नस्विकारेको स्मृतिले बताइन्। उनी परिवारलाई कन्भिन्स गराउँदै आफू पर्दामा देखिन सफल भइन्। त्यो समय घरमा जान पनि डर लाग्ने गरेको उनले सुनाइन्।

अहिले स्मृतिका आमा–बुबा उनको काम देखेर खुसी भएका छन्। सरकारी कर्मचारी बन्न आमाले अझै ‘फोर्स’ गर्ने गरेको उनी बताउँछिन्। उनी काठमाडौँमा पढ्दै काम गर्थिन्। शंकरदेव क्याम्पसबाट स्नातकोत्तर गरेकी उनले पहिलो गीत निर्देशन गर्दाको अनुभव सुनाइन्– ‘०६८ सालमा क्यामेरा पर्सन मधुर बस्नेतले एउटा भिडियोको कोरियो गर्न लगाउनुभयो। सुटिङचाहिँ गोदावरीमा भएको थियो। मैले गरेको कामलाई उहाँले सोचेभन्दा राम्रो गर्‍यौ भन्नुभयो। म धेरै खसी भएँ। उनका कलेजका साथीहरू सबैले सरकारी जागिर खाएको स्मृतिले बताइन्।

‘आफ्नै खुसीले रोजेको हुनाले यो पेसामा नजान साथीहरूले आग्रह गर्दा पनि मानिनँ,’ उनले भनिन्।

जुन क्षेत्रमा लागे पनि दुःख र संघर्ष गर्नुपर्ने उनको सुझाव छ। हिजो संघर्ष गर्दा पनि विदेश जाने मोह नजागेको उनले बताइन्। उनले भनिन्, ‘स्वदेशमै यो पेसामा लागेर नाम, दाम र काम पाएकी छु, यसमै म सन्तुष्ट छु।’ उनले कोरस नाच्दा दुई सय रुपैयाँ पारिश्रमिक पाउँथिन्। सहायक निर्देशक बन्दा उनको पारिश्रमिक चार सय पुगेको थियो।

उनी भन्छिन्, ‘सफलता हासिल गर्न मिहिनेती, क्षमतावान र लगनशीलता चाहिन्छ। उनले आफ्नो कमाइले खर्च नचल्दा पनि धैर्य गरेर आज यहाँसम्म आएको बताइन्। उनले भनिन्, ‘मलाई यस क्षेत्रमा केही न केही गर्नु थियो। सुरुमा हिरोइन बन्न मन लाग्यो, त्यसका लागि अवसर पाइएन। पछि ‘हिरो’ बन्न निर्देशक भएँ।’

स्कुल पढ्दा फिल्म हेर्न जाने गरेको स्मरण गर्दै उनी भन्छिन्, ‘फिल्ममा नायिकाले नाचेको देख्दा आफूलाई पनि चर्चित हुन गाउन र नाच्न मन लाग्यो।’ उनी आमदर्शकले चिनून् भन्ने चाहन्छिन्। पर्दापछाडि मात्र काम गर्दा कलाकारले मात्रै चिन्ने गरेको भन्दै आफूले नाच्न सिकाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि तपाईं डान्स टिचर हो ? भनेर धेरैले सोध्दा आफूलाई खुसी लागेको उनले बताइन्।

उनले धेरै म्युजिक भिडियोको निर्देशन गरेकी छन्। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले बनाएका जनचेतनाका भिडियोमा पनि निर्देशन गरेकी छन्।

स्मृति भन्दा पनि ‘गुरुआमा’ नामले परिचित उनी भन्छिन्, ‘१२–१३ वर्ष अगाडिको कुरा हो एक अवार्डको भिडियो हुँदै थियो। निर्देशक तथा मोडल शंकर बिसी हुनुहुन्छ, उहाँले मलाई कामको जिम्मा दिनुभएको थियो। मैले थोरै समयमा धेरै कलाकारलाई कम्पोज गराएको थिएँ। धेरैले सानो मान्छेले धेरै काम गर्न कसरी सकेको भन्नुभयो। पछि शंकर दाइले ऊ गुरु हो नि त, ऊ डान्स टिचर हो नि त भन्नुभयो। त्यसपछि ‘गुरुआमा’  नामले निरन्तरता पायो।’  स्मृतिले आफूलाई गुरुआमा भने पनि उनले आफ्नो जीवनको गुरुचाहिँ पाल्पाका हरिस थापालाई मानेकी छन्।

उनले थापाबाट डान्स सिकेकी हुन्। पछि नृत्य सिकेर काठमाडौँ आएपछि उनले शंकर बिसीलाई पनि गुरु मानिन्। म्युजिक भिडियो राम्रो हुन गीत पनि राम्रो हुनुपर्ने उनको अनुभव छ। उनले निर्देशन गरेका म्युजिक भिडियो आमदर्शकले राम्रो माने पनि उनी आफैँलाई भने राम्रो नलागेको बताइन्।

उनले भनिन, ‘मैले आफ्नो काम देखाउन पाएको छैन, आफूलाई चित्त बुझ्ने काम गर्न पाएको छैन। अहिलेसम्म राम्रो  गरेँ भन्ने एउटा पनि भिडियो छैन।’

उनले अहिले भाइरलको समय भएकाले गीत पनि केही समयसम्म भाइरल हुने बताइन्। तर अग्रज कलाकारले भाइरललाई समातेर काम गर्दा उनकाे चित्त दुखेकाे छ। गीत संगीत बुझेको मान्छेले भाइरललाई समातेर काम नगर्न उनी  आग्रह गर्छिन्।

उनले अहिले भाइरल गीत बनेकोले आफूले पनि त्यसैमा काम गर्नुपर्ने बाध्यता भएको बताइन्। ‘केही कलाकार भाइरलबाटै पनि स्थापित भएका छन्,’ उनले भनिन् ‘नाच्ने कलाकार पनि भाइरलबाट आएर स्थापित भएका छन्। आफ्नो क्षमता देखाएर भाइरल हुने मान्छे आफैँ स्थापित हुन्छ।’ तर पछिल्लो समय भाइरलले गर्दा राम्रा गीत पछि परेको उनले बताइन्।

उनले भनिन्, ‘मैले तयारी गरेका गीत भाइरलले गर्दा पछि परेका छन्। स्टुडियोमा गीत तयार भयो भनेर सोध्दा अहिले भाइरलको गीत भइराछ, तपाईंको गर्न पाइएको छैन भन्छन्।’  उनले भाइरललाई भेलको संज्ञा दिँदै भनिन्’, ‘भेल कहिल्यै  समुन्द्रमा पुग्दैन। भाइरल होइन क्षमता र केही सिकेर मात्र भाइरल हुन आउनुहोस्।’

उनले नारीले आफैँलाई कमजोर ठान्न नहुने बताइन्। नारीले आफूलाई मैले केही गर्न सक्छु, मैले पुरुष बराबर पनि काम गर्न सक्छु भनेर सोच्न सक्नुपर्छ। उनले भनिन्, ‘महिलालाई कमजोर हुन् भनेर सोच्न भन्दा पनि उनीहरुलाई सहयोग र सपोर्ट गर्दा उनीहरूले पुरुष बराबर काम गर्न सक्ने उनको भनाइ छ।

‘तपाईंले महिलालाई कस्तो राम्रो काम गर्नुभयो भन्दा मात्रै पनि महिला खुसी भएर काम गर्न सक्छन् भने सपोर्ट गर्दा झन् कति गर्लान् ?’ उनले भनिन्। उनले नयाँ कलाकार बन्न चाहनेहरूलाई काम सिकेर आउनसमेत आग्रह गरेकी छन्।

पूरा भिडियाे हेर्नुहाेस्:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?