
काठमाडौँ- काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको पाँचदिने ‘चेम्बर एक्स्पो’को सोमबार समापन हुने भएको छ।
बिहीबारबाट नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको थियो।
एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका छन्।
त्यही एक्स्पोमा सावित्री कञ्जनजंगा अगरबत्तीले पनि स्टल राखेको छ। यहाँ स्टल राख्दा विदेशमा अगरबत्ती निर्यात हुन थालेको सावित्री कञ्जनजंगा अगरबत्तीका म्यानेजर पुस्कर केसीले बताए।

सावित्री कञ्जनजंगा अगरबत्तीका म्यानेजर पुस्कर केसी।
पहिलो चरणमा भएको एक्स्पाेमा स्टल राख्दा बिभिन्न देशमा अगरबत्ती निर्यात हुन सुरु भएको थियो। उनले भने, ‘नेपालमै उत्पादन भएको चिजलाई सम्पूर्ण नेपालीसम्म पुर्याउन र एक्स्पो मार्फत बाहिर निर्यात गर्न सहज हुने भएकाले एक्सपोमा स्टल राखेका हौँ।’
कञ्जनजंगा अगरबत्ती नेपालमा मात्र नभई विदेशमा पनि निर्यात हुन्छ। अगरबत्तीको नेपालभर नै माग हुन्छ, त्यति मात्र नभई अस्ट्रेलिया, चीन, अमेरिका, युके, हङकङ लगायत ८ देखि १० देशमा पनि निर्यात हुन्छ।
अगरबत्तीका १ सय सम्म ब्रान्डहरू रहेका छन। कञ्जनजंगा अगरबत्तीले हालै केही नयाँ धुप पनि निकालेको छ।
बाँसबिनाको काँटी ब्राण्ड नाम गरी धुप, कोन, गिलो धुप, गोकुल धुपहरु निकालेको छ। यस्तै कञ्जनजंगा अगरबत्तीले राहत रिलिफ र आरम नामको मच्छड धुप पनि निकालेको छ। ग्राहकको माग अनुसार नयाँ अगरबत्ती बनाउने गरेको उनले बताए। यो एक्स्पो मार्फत नयाँ उत्पादनलाई प्रचार प्रसार गर्न सहज भएको र यस्ता एक्स्पो हरू वर्षमा एकचोटि भन्दा पनि समयसमयमा हुनपर्ने उनको माग थियो।
उक्त एक्स्पाेमा चर्चित कुरुम-कुरुम चिउरा उत्पादन गरिरहेको हाईलाईफ प्राेडक्टले पनि स्टल राखेको छ। हाईलाईफले भने एक्स्पोमा पहिलो चोटि स्टल राखेको हो। पहिलो पटक स्टल राख्दा नयाँ ग्राहकले राम्रो प्रतिक्रिया दिएका हाईलाईफकी मार्केटिङ स्टाफ अनिता ओखेडाले बताइन्।

हाईलाईफ प्राेडक्टकी मार्केटिङ स्टाफ अनिता ओखेडा।
उनले नेपाली ब्राण्डलाई पनि चिन्नका लागि यहाँ स्टल राखेको बताइन्। एक्स्पोमा गएर हाईलाईफको प्रोडक्ट किन्दा फिक्स मूल्यको भन्दा १० प्रतिशत छुट पाइन्छ। हाईलाईफ प्रोडक्टसँगै हाईलाईफकै नयाँ उत्पादन पनि थपिएको छ। हाईलाईफकाे स्थापना सन २०१९ मा भएकाे हाे। त्यहाँ भन्दा अगाडि रुपन्देहीबाट कुरुम-कुरुम चिउरा उत्पादन हुने गरेको थियो।
गोल्ड चिया, मसला चिया, हनी कर्नफ्लेक्स, स्ट्रबेरी कर्नफ्लेक्स पनि थपिएको ओखेडाले बताइन्। उनका अनुसार हाईलाईफको नेपाली प्रोडक्ट अष्ट्रेलिया, जापान, युएई लगायतका देश हरूमा पनि निर्यात हुँदै आएको छ।
एक्स्पोमा चर्चित चिया ब्राण्ड टोकला चिया उत्पादन गर्ने नेपाल चिया विकास निगमले पनि स्टल राखेको छ। निगमले ब्राण्ड प्रमोसन गर्नको लागि एक्स्पोमा स्टल राखेको निगमका मर्चनडाइचर कञ्चन पुर्वाछनेले बताए।
निगमले हालसम्म भएको एक्स्पोमा लगातार स्टल राख्दै आइरहेको छ। अरुले बजारमा चर्चित हुँदा पनि किन राखेको भन्ने गरे पनि समय अनुसार मेन्टेन गर्न एक्स्पोमा स्टल राख्ने गरेको पुर्वाछनेको भनाइ छ। ‘यहाँ राख्दा चियाको बारेमा राम्रो प्रतिक्रिया पाउँदा गर्व लाग्छ,’ उनले भने।
टोकला चिया १८ देशमा पनि निर्यात हुने गरेको छ।
एक्स्पोमा नेपाल साल्ट ट्रेडिङले पनि स्टल राखेको छ। मेला महोत्सवमा आएका ग्राहकलाई साल्ट प्रोडक्टको बारेमा जानकारी दिन र बिक्री वितरण गर्न स्टल राखेको नेपाल साल्ट ट्रेडिङका सहायक प्रबन्धक प्रज्वलमान प्रधानले बताए।

नेपाल साल्ट ट्रेडिङका सहायक प्रबन्धक प्रज्वलमान प्रधान।
‘आर्थिक मन्दी लागेको बेला यसरी स्टल राखेर बेच्न पाउदा आर्थिक चलायमान भएको अनुभुति हुने गरेको छ,’ उनले भने, ‘ट्रेडिङमा करिब २० % सरकारको लगानी रहेको छ भने बाँकी जनताको लगानी रहेको छ।’
फ्लेभर मिल्क उत्पादन गर्ने मार्टिन डेरीले पनि एक्स्पोमा स्टल राखेको छ। मानिसहरूलाई आफ्नो उत्पादनलाई निशुल्क टेस्ट गराई उनीहरूको प्रतिक्रिया लिन स्टल राखेको मार्टिन डेरीका बिजनेस डेभलपमेन्ट म्यानेजर रोशन भडेलले बताए।

मार्टिन डेरीका बिजनेस डेभलपमेन्ट म्यानेजर रोसन भडेल
उनले भने नेपालमा भएको उत्पादनलाई स्थानीयसम्म पुर्याई निशुल्क टेस्ट गराएर उहाँहरूको प्रतिक्रिया अनुसार प्रोडक्टलाई कत्तिको स्वीकार्नुहुन्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो । मार्टिन डेरी प्रोडक्टको मुख्य उत्पादन फ्लेभर मिल्क हो । यसले ५ वटा फ्लेभर उत्पादन गरिरहेको छ। टेस्ट गरेका सबैले मानिसले फ्लेभर मन पराएका उनले बताए। फ्लेभर मिल्क स्थापना भएको १ वर्षभन्दा बढी भएपनि आइसक्रिमको ब्रान्ड मार्केटमा आउन थालेको २० वर्ष भएको उनले बताए। उनले नेपाली प्राडक्टलाई माया गर्न आग्रह गरेका छन्।
एक्स्पोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तुहरू प्रदर्शनीमा राखिएको छ। घरजग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारीसाधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू समेत प्रदर्शनीमा रहेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो सुरू भएको हो। एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका छन्। आगामी सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले सहभागिता जनाएका छन्।