
काठमाडौँ- सरकारले नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत हुन भनेपछि ‘भाइबर’ नेपालमा औपचारिक रुपमै रुपमा सूचीकृत भएको छ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक ‘भाइबर’ सामाजिक सञ्जालका रुपमा नेपालमा सूचीकरण भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन्।
सुवेदीका अनुसार नेपालमा सूचीकरण गर्न तीन प्लेटफर्मले इच्छा राखेका छन्। यसमध्ये भाइबर र लिंक्ड इनले सूचीकरण हुन आवेदन दिएका थिए भने स्न्यापच्याटले पनि इच्छा देखाएको छ।
भाइबरले भने आवेदन दिएर प्रमाणपत्र पनि पाइसकेको छ। सुवेदीले १६ वटा प्लेटफर्मको समूहले पनि सूचीकरण गर्न खोजेका तर नेपालको निर्देशिका नबुझेर कन्फ्युज भएको बताए।
उनले भने, ‘१६ वटा प्लेटफर्मको समूहले सूचीकरण गर्न इच्छा राखेका थिए। कानुन पनि बन्दै गरेको र निर्देशिका पनि भएको कन्फ्युज भएर सोधिराखेका छन्। मैले अहिलेका लागि निर्देशिका नै कानुन हो। अरु कानुन कहिले बन्छ कहिले लागू हुन्छ, अहिले भन्न सकिदैन भनेर रेस्पोन्स गर्ने तयारी गरेको छु।’
सुवेदीले नेपालमा भााइबर सूचीकरण भएपनि नेपालमा भाइबरका प्रयोगकर्ताहरू कति छन् भन्न कठीन हुने बताए। सुवेदीका अनुसार उनीहरूले एकजना सम्पर्क व्यक्ति र नम्बर दिएका छन्। सुवेदीले निर्देशिकामा जुनसुकै प्लेटफर्म सूचीकरण गर्न सम्पर्क कार्यालय अनिवार्य नभनेको हुँदा अहिले भाइबरले पनि सम्पर्क कार्यालय नखोलेको बताए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो। मन्त्रालयका सुवेदीका अनुसार मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिकाबमोजिम तोकिएको प्रक्रिया पूरा गरेर भाइबर सूचीकरण गरिएको हो।
नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई तीन महिनाभित्र सूचीकृत भएर अनुमतिपत्र लिनुपर्ने भनेकाे थियाे। तर, भनेकाे समयमा नभएपछि अहिले पनि सञ्चार मन्त्रालयले सूचीकरणका लागि सहजीकरण गरिरहेको छ।
यस्ता प्लेटफर्महरुले हरेक तीन-तीन वर्षमा अनुमतिपत्र नवीकरण पनि गर्नुपर्ने नियम छ। निर्देशिकामा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफार्मलाई जुनसुकै बखत बन्द गर्ने लेखिएको छ।
सामाजिक सञ्जालमा देखिएका विकृति र विसंगति सम्बोधन गर्न भन्दै निर्देशिकाले विभिन्न १९ वटा क्रियाकलापलाई ‘गर्न नहुने’ मा सूचीकरण गरेको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताका वैयक्तिक विवरण गोप्य राख्नुपर्ने व्यवस्थालाई निर्देशिकाले जोड दिएको छ। त्यसका लागि आवश्यक अल्गोरिदमको विकास र प्रयोग गर्नुपर्ने उल्लेख छ।
प्रयोगकर्ताका वैयक्तिक विवरण गोप्य राख्नुपर्ने गरी सुरक्षा मापदण्ड अपनाउनुपर्ने र यस्ता विवरण सार्वजनिक गर्न वा अन्य प्रयोजनमा प्रयोग गर्न नहुने पनि निर्देशिकामा उल्लेख छ ।
निर्देशिकामा नेपालमा कार्यालय नभएका सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले नेपालमा सम्पर्क विन्दु स्थापना गर्नुपर्ने उल्लेख छ ।
नेपालमा सूचीकृत हुनका लागि सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधि वा अनलाइन माध्यमबाट समेत निवेदन दिन सक्ने नियम छ।
निर्देशिकामा नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण हुनुपर्ने नियम उल्लेख छ। एक लाखभन्दा बढी प्रयोगकर्ता रहेका सामाजिक सञ्जाल सञ्चालकलाई नेपालमै कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था राखिएको छ। तीनका सञ्चालकहरुले नेपालमा सम्पर्क कार्यालय वा सम्पर्क व्यक्ति तोक्निुपर्ने नियम पनि रहेको छ।
सरकारले गत २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो। टिकटकले सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले बन्द गर्ने निर्णय गरेकोे थियो।
टिकटकलाई भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका देशले पनि बन्द गरेका छन्।