जो दुवै हातले ट्याटु हान्छन्

जो दुवै हातले ट्याटु हान्छन्
+
-

ट्याटु आर्टिस्ट। उमेर ४० वर्ष। गृहजिल्ला बुटवल। उनले जीवनको आधा समय ट्याटु आर्टिस्ट पेसामा बिताएका छन्। दुवै हातले ट्याटु हान्ने अनौठो कला छ उनीमा। उनी हुन्- राजु पाण्डे।

ट्याटु हान्दासम्म पनि उनलाई आफ्नो क्षमताप्रति सुरुमा केही लागेन। उनी सानैदेखि दुवै हातले लेख्ने गर्थे। पछि उनका साथीहरूले उनीमा भएको त्यो क्षमता विश्वमाझ पुर्‍याउन आग्रह गरे। किनकि विश्वका कमै मान्छेमा हुन्छ त्यस्तो क्षमता। साथीहरुले जगाएको उत्साहलाई शिरोपर गर्दै उनले आफ्नो क्षमतालाई गिनिज वर्ल्ड रेकर्डमा दर्ता गर्ने अठोट गरे।

उनले सन २००१ मा गिनिज बुकमा नाम लेखाउन चाहिने कागजात पेस गरे। तर, उनीसँग घरेलु तथा साना उद्योगमा आफूले सञ्चालन गरेको संस्था दर्ता भएको प्रमाण पत्र भने थिएन।

जुन देशको नागरिक हो, त्यही देशमा बसेर सञ्चालन गरेको संस्था र जे सम्बन्धीको संस्था हो त्यही विधामा घरेलुमा दर्ता हुनुपर्ने गिनिजको नियम छ।

त्यो बेला उनी प्रोफेसनल ट्याटु आर्टिस्ट बन्न विदेश गएको स्मरण गर्छन्। स्वदेश फर्केपछि घरेलुमा दर्ता गर्न खोजे। तर, उनको पेसा दर्ता गर्न विधानमा नभएको भन्दै घरेलुका कर्मचारीले अस्वीकार गरे। र, ट्याटुको सट्टा अन्य क्याटागोरीमा दर्ता गर्न सुझाए।

उनले ट्याटुको क्याटागोरी किन नभएको ? अन्यले कसरी दर्ता गरेर चलाएका छन् त भनेर सम्बन्धित अधिकारीसँग सवाल–जवाफ पनि गरे।

ती कर्मचारीलाई उद्धृत गर्दै उनले भने, ‘ट्याटु आर्टमा पर्ने भएको हुनाले यसमै दर्ता गर्न मिल्छ। कसैले नाईमा दर्ता गरेर पनि चलाएका छन्।’

उनी ट्याटुको क्याटागोरी बन्ने आसमा फेरि विदेश गए। गिनिज बुकमा रेकर्ड राख्न त्यो कागजात अनिवार्य थियो। तर, स्थानीय सरकारले उनको उक्त डकुमेन्ट बनाउन मानेन। उनले मलेसिया, थाइल्यान्डलगायत मुलुकमा ट्याटुको क्याटागोरीको दर्ता हुने गरेको बताए। यस विषयमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसँग बुझ्दासमेत उनले ट्याटुको क्याटागोरीको व्यवस्था नभएको बताए।

उनले भने, ‘अहिलेसम्म आर्टमै दर्ता भइरहेको छ। अब यदि धेरै दर्ता गर्न खोजे भने ट्याटुको क्याटागोरी बनाउँछौं। त्यो बनाउन कुनै गाह्रो छैन।’

पाण्डेले धेरै कोसिस गरे पनि उनको गिनिज वर्ल्ड रेकर्ड राख्ने सपना पूरा नहुनुमा राज्यलाई दोष दिएका छन्।

१६ वर्षको उमेरमा साथीको ट्याटुबाट प्रभावित भएका राजुले २०१३ मा भएको अन्तर्राष्ट्रिय ट्याटु सम्मेलनबाट बेस्ट अफ द डे अवार्ड पाएका छन्।

यो सम्मेलन प्रत्येक वर्ष विश्वभर हुने गर्छ। यो सम्मेलनमा उनी ३ चोटी जज पनि बसेका छन्। उनलाई विश्वका टप स्टुडियोले शिक्षण गर्न बोलाउने गरेका छन्।

उनले छिमेकी देश भारतमा गएर धेरै पटक ट्याटुसम्बन्धी कक्षा पनि दिएका छन्। उनले चर्चित खेलाडी, व्यापारीलगायत अन्य आर्टिस्टलाई ट्याटु हानेका छन्।

उनले इन्डियाका क्रिकेट प्लेयर रविन सिंह, नायक अमिताभ बच्चनका फेसन डिजाइनर, चर्चित फेसन डिजाइन नम्रता जोसी पुरा, जाराको ड्रेस डिजाइनर, युरोपको फेसन डिजाइनर लगायत टेलिभिजनका सिरियल आर्टिस्टलगायत सयौँलाई ट्याटु हानेको बताए।

उनी ट्याटु ग्याङ्स्टार र बदनाम भएकाको मात्र साधन भएको भनाइलाई परिवर्तन गर्न चाहन्छन्। त्यति मात्र नभई उनी नेपालको ट्याटु आर्टलाई विश्वभरि चिनाउन चाहन्छन्।

कुनै समयमा तेजाव, रक्सी खाने मान्छेले मात्रै ट्याटु हान्छन् भन्ने नसोच्न उनले आग्रह गरेका छन्। उनले पहिले डेकोरेसनका लागी ट्याटु हान्ने गरे पनि अहिले इमोसनल भ्यालुका लागि ट्याटु हान्ने गरेको बताए।

‘पहिले ट्याटु हान्ने मान्छे डनजस्तो देखिए पनि अहिले मान्छेले हानेको ट्याटुबाट उसको स्वभाव पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘मान्छेले आफ्नो स्वभावअनुसार ट्याटु हान्ने गर्छ। उसले हानेको प्रत्येक ट्याटुले फरक–फरक झल्को दिन्छ। त्यसलाई नै इमोसनल भ्यालु भन्ने गरिन्छ।’

जापानमा याकुजा ट्याटु भनेर अपहेलना भए पनि अहिले जापानले पनि स्विकारेको उनी बताउँछन्। नेपालको ट्याटुलाई व्यवस्थित गर्नुपर्ने उनको माग छ। २०१० बाट नेपालमा ट्याटु कन्भेन्सन भए पनि अहिलेसम्म व्यवस्थित रुपमा सञ्चालन नभएको उनले बताए।

उनले भने, ‘नेपालमा हुने ट्याटु कन्भेन्सनमा १६ देशबाट ट्याटु मास्टर आउँछन्। त्यो ट्याटु कन्भेन्सनले गर्दा करोडौँ कमाइ हुन्छ। यस्तो हुँदा ट्याटुलाई ट्याटु क्याटागोरीमा किन नराख्ने ? भारतमा भन्दा पहिला ट्याटु कन्भेन्सन नेपालमा हुन्थ्यो। पछि नेपालको सिकेर भारतले सुरु गरेको हो।’

उनले नेपालका ट्याटु आर्टिस्टहरू स्मार्ट रहेको बताए। नेपालमा भएको ट्याटु कन्भेन्सनबाट विदेशबाट आएका आर्टिस्टले सिक्ने गरेको उनी बताउँछन्।

उनले काठमाडौँको ठमेलमा नेपालका अन्यभन्दा फरक ट्याटु स्टुडियो खोलेका छन्। उनले विदेशमा सिकेर नेपालमा आफ्नो कला सिकाउन र शिक्षण गर्न आएकाले आफूसँग ट्याटु सिक्न आउन आग्रह गरेका छन्। ‘जुन देशमा म गएँ त्यो देशमा सिनियर आर्टिस्ट भएँ, सिनियर रुपमा जब गरेँ। देश–विदेशको २० वर्षको अनुभव छ,’ उनले भने।

उनका अनुसार नेपाललाई नेपालमा भएका प्राकृतिक सम्पदाबाट ट्याटुमार्फत विश्वभरि चिनाउन सकिन्छ।  ‘विदेशबाट नेपालमा हजारौँ पर्यटक आउँछन्। नेपालका ताल, हिमाल झर्ना हेर्न आउने भएकाले तिनीहरूलाई ट्याटुमार्फत विश्वभरि चिनाउन सकिन्छ, नेपालमा पनि यस्तो ट्याटु आर्टिस्ट रहेछन् भन्ने पनि हुन्छ,’ उनले भने ।

सानोमा उनले स्कुल पढ्दा बायाँ हातले लेख्ने गर्थे। उनलाई बायाँ हातले लेख्ने गरेर सबैले ‘देब्रे’ भनेर गिज्याउने भएकाले उनका दाइ सागरले दायाँ हातले पनि लेख्न सिकाएका थिए। उनले त्यो क्षण सम्झिँदै भने, ‘त्यतिबेला दाइले बायाँ हात बाँधेर दायाँ हातले गृहकार्य गराउन लगाउनुहुन्थ्यो। त्यसबेला टर्चर लाग्थ्यो, अहिले यो उपहार भएको छ।’

उनले त्यसपछि दुबै हातले लेख्ने अभ्यास गरेकाले अहिले दुबै हातले ट्याटु हान्न सहज भएको बताए।

उनका ६ दाइ, १ भाइ र १ दिदी छन्। उनी १६ वर्षको उमेरमा साथीको ट्याटुबाट प्रभावित भएका थिए। उनका दाइ सागर आर्टिस्ट थिए। राजु दाइले गरेको देखेर आफूले पनि चित्र बनाउँथेँ। स्कुलमा हुने प्रतियोगितामा राजु प्रथम हुन्थे। एकदिन उनको साथीले ट्याटु हानेको देखे। राजुलाई ट्याटु हान्ने मेसिन हेर्न मन लायो। उनले ट्याटु हानेको  मेसिन देखाइदिन साथीलाई आग्रह गरे।

त्यो मेसिनको मेकानिजम देखेपछि राजुले आफैँ ट्याटु हान्ने मेसिन बनाए र आफैँलाई हाने। ‘ट्याटु हान्दा कत्तिको दुख्ने रै’छ भनेर आफैँलाई टेस्ट गर्न बनाएको हुँ,’ उनले भने।

सुरुमा राजुले ट्याटु हान्न सिक्दै गर्दा आमाले यो पेसा छोड्न आग्रह गरेको उनले बताए। सुरुमा उनी ट्याटु निःशुल्क हान्ने गर्थे। पछि आमालाई फकाउन उनले १ जनालाई ट्याटु हानेको ५०० लिने गरे। त्यो पैसा उनले आमालाई दिए। त्यसपछि आमा अलि खुसी भएको उनले सुनाए। आमा खुसी हुन थालेपछि उनले रेट ५ सयबाट १ हजार हुँदै २ हजार बनाए। पैसा जम्मा गरी एकैपटक ७ हजार बनाएर आमालाई दिँदा आमा खुसी भएको उनले बताए।

तैपनि, उनको आमाले अर्कालाई दुखाएर कसरी पैसा कमाउँछ भन्ने भ्रममा परेकाले पटक–पटक नगर भनेर आग्रह गरेको उनले बताए। तर, राजु आमालाई फकाउँदै आफू अब्बल ट्याटु मास्टर बन्न लागे। पछि विदेशबाट मेसिन ल्याएर एक वर्ष बुटवलमा पसल पनि गरे। पछि प्रोफेसनल ट्याटु आर्टिस्ट बन्न उनी एसएलसी पास गरेर विदेश गए। मलेसियामा सिकेर उनी ट्याटु प्रोफेसनल ट्याटु मास्टर बने।

मलेसियामा काम गर्न थालेपछि पछि उनलाई सिंगापुरबाट पनि अफर आएको उनले बताए। त्यसपछि उनले सिंगापुर र मलेसिया दुबै देशमा काम गरे। दुबै देशमा काम गरेको अनुभव लिएर उनी थाइल्याण्ड गए। अहिले उनी ठमेलमा आफ्नै ट्याटु स्टुडियो बनाएर काम गरिरहेका छन्।

विदेशमा साइजको आकारमा पारिश्रमिक लिए पनि नेपालमा ट्याटु हान्दा घण्टाको हिसाबले पारिश्रमिक लिने गर्छन्। उनले एक घण्टा ट्याटु हानेको ५ हजार लाग्ने र सामान्यतया एउटा ट्याटु हान्न ३ देखि ४ घण्टा लाग्ने उनको भनाइ छ। साइजको आकारमा ट्याटु हान्दा पारिश्रमिक महँगो हुने भएकाले घण्टाको हिसाबले लिने गरेको उनले बताए।

पाण्डेको ट्याटु स्टुडियो काठमाडौँको ठमेलमा रहेको छ। यस बारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस, अथवा ९८२१४९७०५० मा सम्पर्क गर्नुहोस्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?