
झापा- आगामी वैशाख १५ गते निर्धारित इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार औपचारिक रूपमा उम्मेदवार घोषणा गर्दैछ।
आज दिउँसो १ बजे इलाम नगरपालिका ७ इलाम चोक बजारमा घोषणासभा गर्दै रास्वपाले आजदेखि चुनावी अभियान सुरु गर्न लागेको हो।
त्यसका लागि पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने शुक्रबार नै इलाम पुगिसकेका छन्।
उम्मेदवारी घोषणा सभालाई सभापति लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सहप्रवक्ता रमेश प्रसाईं, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायत नेताहरूले सम्बोधन गर्ने रास्वपाले जनाएको छ।
रास्वपाले इलाम- २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ।
लिम्बू वामपन्थी पृष्ठभूमिबाट उदाएका पूर्व पत्रकारसमेत हुन्।