
काठमाडौँ- लक्ष्मी सन्राइज बैंकले ‘स्पार्क २४’ नेतृत्वमा महिला सशक्तिकरण-समावेशीकरणलाई प्रेरित गर्नुहोस्’ कार्यक्रम गरेको छ।
बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै स्पार्क २४स् नेतृत्वमा महिला सशक्तिकरण-समावेशीकरणलाई प्रेरित गर्नुहोस् कार्यक्रमको आयोजना गरेको जनाएको छ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आफ्ना धारणाहरु राखेका थिए।
कार्यक्रमको समापन मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शारिरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए।
यस पहलमा वृहत मेन्टरसिप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्थाहरू र महिला कर्मचारी भएका कार्यालयहरूमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरूको व्यवस्था लगायतका योजनाहरू समावेश रहेको बैंकले जनाएको छ।
उनले महिलाहरूलाई व्यक्तिगत र व्यवसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गरे। उनले उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीति मार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता जाहेर गरे।
उनले बैंकमा लैङ्गिक प्रतिनिधित्त्व वृद्धि गर्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै सक्षम र योग्य महिला जनशक्तिको व्यावसायिक वृद्धि र उन्नतिलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न पहलहरू कार्यान्वयन गर्न जारी राख्ने बताए। भविष्यमा कर्मचारीहरुको निम्ति संस्थाले प्रदान गर्नुपर्ने हेरचाह र उपयुक्त समयको व्यवस्थापनमा आफुहरु तयार रहने उनको भनाई थियो।
पछिल्लो तथ्यांक अनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी कारोबार अनुपात ७% रहेकोमा लक्ष्मी सन्राइज बैंकको १%भन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने बैंकको प्रयासको सकारात्मक परिणामहरू झल्काएको बैंकको भनाई छ।
बैंकका अनुसार हाल बैंकमा ३६% जनशक्ति महिला रहेकोमा महानगरहरूमा सो अनुपात ४५% रहेको छ। काठमाडौं उपत्यका भित्रका बैंकका करिब ४०% शाखामा महिला शाखा प्रबन्धकहरू रहेका छन् भने बैंकको २५% विभागको नेतृत्त्व महिलाहरुले गरीरहेका छन्।
बैंकको उक्त कार्यक्रमले एक वार्षिक परम्पराको सुरुवात गरेको बैंकको भनाइ छ।