
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलामको क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी तातेको छ। संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनका लागि विभिन्न पार्टीबाट उठेका उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्।
नेम्वाङको निधनपछि त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पद रिक्त छ। सोही पदका लागि वैशाख १५ गते मतदान हुन लागेको हो।
नेकपा एमालेका नेता नेम्वाङको निधनपछि सोही विरासत थाम्न भन्दै एमालेले नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ। सुहाङ यतिबेला आफ्ना कुरा राख्दै मतदाताका घर-घरमा पुग्न थालेका छन्।
एमालेले उनलाई उम्मेदवार बनाएपछि पार्टीका कतिपय नेता/कार्यकर्ताले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पनि जनाएका थिए। पार्टीभित्रै असन्तुष्टि व्यक्त हुन थालेपछि उनलाई पनि बुवाको विरासत जोगाउन निकै हम्मे पर्ने देखिएको कतिपयको बुझाइ छ।
आफू युवावर्गमा पर्ने भएकाले अधिकांश युवा मतदाताले आफूलाई मत दिने तर्क उनले राख्दै आएका छन्।
माओवादी राजनीतिबाट उदाएका तथा पत्रकारिता क्षेत्रबाट आफ्नो परिचय बनाएका मिलन लिम्बु पनि चुनावी मैदानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो दलको आधिकारिक घोषणा गरेपछि उनी पनि चुनावी मैदानमा होमिएका हुन्। उनी आफू इलामको ‘अर्ग्यानिक’ उम्मेदवार भएको बताउँछन्।
गत निर्वाचनमा एमालेका नेता सुवास नेम्वाङले जितेको सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खडकाले थोरै मतले हारेका थिए। यसअघिको निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन रहेको थियो भने अहिले अवस्था फरक छ। सबै दलका उम्मेदवार एक्ला-एक्लै चुनावी मैदानमा होमिएका छन्।

चुनावी प्रतिस्पर्धामा राप्रपाका लक्ष्मी गुरुङ र पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिम।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ। अहिले पहिलाको जस्तो परिस्थिति नभएकाले आफ्नो उम्मेदवारले जित हासिल गर्नसक्ने आधारहरू तय भएका राप्रपाका नेताहरूको बुझाइ छ। रास्वपाका उम्मेदवार लिम्बूले एमाले र कांग्रेसको मत काट्ने स्थिति रहेको भन्दै राप्रपाका नेता तथा कार्यकर्ता हौसिएका छन्।
पहिचानवादी समूहका डेकेन्द्र थेगिम स्वतन्त्र उम्मेदवार बनेका छन्। एमाले र कांग्रेसको मतभार धेरै रहेको सो क्षेत्रमा थेगिमले पनि एमाले र कांग्रेसकै मत काटने आंकलन गरिएको छ।
केन्द्रमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट धिरेन्द्र शर्मालाई उम्मेदवार सिफारिस भएका छन्।
पार्टीको जिल्ला कमिटीले उनको एकल नाम प्रदेश कमिटीसमक्ष सिफारिस गरेको हो। एकल नाम सिफारिस भएपछि उनी पनि चुनावको तयारीमा जुटेका छन्। उनी आफूलाई इलाम बुझेको मान्छे भनेर चित्रित गर्छन्।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवार छनोट गर्न आज कार्यसम्पादन समितिकाे बैठक आह्वान गरेका छन्।
पार्टीको जिल्ला कार्यसमितिले भेषराज आचार्य, केशब थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्दम, चन्द्रमाया लिम्बु र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ। आज बस्ने भनिएको कार्यसम्पादन समितिकाे बैठकले उम्मेदवार टुंगो लगाउने आंकलन गरिएको छ।