
काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई १ अर्ब रुपैयाँ खाएको आरोप लगाउने महानगरपालिकाकै एक कर्मचारीविरुद्ध मुद्धा चलाइएको छ ।
ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेललाई साइबर अपराधमा मुद्धा चलाइएको हो।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब रुपैयाँ खाएको भन्दै लेखेका थिए।
झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै मेयर बालेनको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।
पौडेल फरार रहेकाले नभेटिएको भन्दै उनलाई फरार प्रतिवादी बनाएर प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ।
पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा रहेर काम गर्दै आएका थिए । सोही क्रममा उनी १६ पुस २०८० मा निलम्बनमा परेका थिए ।
महानगरपालिकाले निलम्बन गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए। त्यसपछि कर्मचारी पौडेल र मेयरबीच द्वन्द्व सुरु भएको थियो ।