सुर्खेत-सुर्खेतमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। प्रहरीमा रहेको तथ्यांकअनुसार मात्र जिल्लामा आत्महत्याको अवस्था कहालीलाग्दो छ।
आत्महत्या गर्नेहरूमध्ये पनि झुण्डिएर प्राण त्याग्नेको संख्या धेरै छ। सामाजिक, पारिवारिक सद्भाव र आत्मीयताको कमी, एक्लोपनको महसुस, सही मार्गदर्शन अभावले र तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्नेको संख्या बढेको हो।
चार वर्षको अवधिमा जिल्लामा १ सय २९ जनाले आत्महत्या गरेका छन्। सबैभन्दा बढी झुण्डिएर ९३ जनाले प्राण त्यागेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार विषसेवन गरी ३४ जना र पानीमा डुबेर दुई जनाले आत्महत्या गरेका छन्। यो त केवल प्रहरीमा दर्ता भएको तथ्याकं मात्र हो।
अधिकांश यस्ता घटनाहरू बाहिर नआउने र प्रहरीसम्म नपुग्ने भएकाले यो संख्या जिल्लामा बढी हुनसक्ने बताइएको छ। आत्महत्या पनि अपराध भएको भन्दै प्रहरीले यसलाई रोक्न चुनौती रहेको जनाएको हो।
सुर्खेतमा २०७१/०७२ मा ३८ जनाले आत्महत्या गरेका छन् जसमध्ये २८ जनाले झुण्डिएर आत्महत्या गरेको तथ्यांक छ। यस्तै ८ जना विषसेवन गरी आत्महत्या गरेका छन् भने दुई जनाले पानीमा डुबेर आत्महत्या गरेका छन्।
२०७२/०७३ मा ३२ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने नौ जनाले विषसेवन गरी आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ। यो ०७१/०७२ भन्दा तीन जना बढी हो। २०७३/०७४ मा ३३ जनाले आत्महत्या गरेका छन्। यीमध्ये २१ जना झुण्डिएर आत्महत्या गरेका छन् भने १२ जनाले विषसेवन गरेका छन्।
चालु आवको ६ महिनामा १७ जनाले आत्महत्या गरिसकेको प्रहरीको तथ्यांकले देखाएको छ।
पाँच जनाले विषसेवन गरेका छन् भने १२ जना झुण्डिएर आत्महत्या गरेका छन्। बढ्दो महत्वकांक्षीपन, सहनशील क्षमताको कमी र प्रतिस्पर्धात्मक समाजका कारणले आत्महत्या गर्नेको संख्या बढेको हो। कुनै समस्यामा परेको व्यक्तिमा केही गर्न सक्छु भन्ने आश हराउनुले आत्महत्या बढेको मेची–महाकाली साइकोथेरापी अभियानका अभियान्ता बासु आचार्य बताउँछन्।
उनका अनुसार कुलतमा फसेको, गम्भीर मानसिक समस्या भएका, साइकोसिस भएको व्यक्तिले आत्महत्या गर्छ। उनले आत्महत्या मानसिक रोग भएको बताए। ‘डिप्रेसनमा परेको मान्छे समस्याको समाधान खोज्दैन,’ उनले भने, ‘कुनै समस्यामा परेपछि मलाई के भन्लान्, अबको बाटो केही छैन भन्ने सोचले जीवन जिउने उपाय नदेख्नेहरूले आत्महत्याको बाटो रोज्ने गर्छन्।’
मानसिक रोग पागलपन नै हो भन्ने गलत बुझाइका कारण पनि आत्महत्या बढेको हो। मानसिक रोगीहरूले २४ सै घण्टा नरमाइलो महसुश गर्ने भएकाले अन्तिम विकल्पका रूपमा आत्महत्यालाई रोज्ने गरेको उनको भनाइ छ। मनोचिकित्सक आचार्यले भने, ‘मानसिक रोग उपचार गरे निको हुन्छ, यो वा त्यो कारणले समस्या भयो भन्ने र उपचारको बाटो नअपनाएकाले आत्महत्या समाजमा डरलाग्दो बनेको हो।’
सबै मानसिक रोगीमा पागलपन नहुने भन्दै उनले डिप्रेसनमा परेको व्यक्तिले उपचार नगर्ने भएकाले आत्महत्याको दर बढ्दै गएको बताए। आत्महत्या वा मानसिक समस्यामा कमी ल्याउन जनचेतनामूलक अभियान, विचार परिवर्तनका लागि परार्मश (साइकोथेरापी) आवश्यक पर्छ। समस्यामा परेको व्यक्तिले मानसिक रोगलाई भन्दा पनि आफुमाथि परेको समस्यालाई दोश देख्ने भएकाले पनि आत्महत्याको अवस्था कहालीलाग्दो बनेको हो।
विज्ञान प्रविधिले निम्त्याएको आधुनिक जीवनशैलीमा समायोजन हुन नसक्दा कपितय व्यक्ति डिप्रेसनको सिकार भएको र आत्महत्या रोज्ने निर्णयमा पुग्ने गरेको पाइन्छ। वालविवाह, अनमेल विवाह, गरिबी, वैदेशिक रोजगारले सिर्जना गरेको पारिवारिक विखण्डनलगायत कारण आत्महत्या गर्नेको संख्या वृद्धि हुँदै गएको छ। ‘सानो विषयलाई लिएर एक्कासी अप्रिय निर्णय लिने परम्पराको विकास हुँदै गएको’ सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने, ‘महत्वाकांक्षी सोच तथा प्रतिस्पर्धात्मक समाजमा घुलमिलको कठिनाइका कारण मान्छेहरू आत्महत्याको निर्णयमा पुग्ने गर्छन्।’ आत्महत्याका घटनामा कमी ल्याउन समाजमा रहेका लैंगिक, सामाजिक विभेदलाई अन्त्य हुनुपर्ने उनले बताए।