
झापा- पूर्वी नाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास गराएर निस्किएका भारतीय नम्बर प्लेट भएका दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गएराति ९:३० बजे धुलाबारी चोकबाट एचआर ६९ सी ४६५९ र जीटी ३४६५ नम्बरको दुई वटा ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकमा भारतीय सेनाबाट अवकांश भएका १० जना नेपालीहरू रहेका र उनीहरूले प्रयोग गरिएका पुराना सरसामान लिएर घर फर्किँदै गरेका बताइए पनि ती ट्रकमा अन्य सामान पनि रहेको प्रहरीको दाबी छ ।
यात्रु शाखाबाट पुराना सरसामानको जाँचपास गराएबापत ६० हजार राजश्व भन्सार बुझाएको प्रज्ञापनपत्र प्रहरीले फेला पारेको छ । तर, ट्रकभित्र पुराना सामानसहित १७ वटा नयाँ वासिङ मेसिन रहेको सूचना प्राप्त भएको प्रहरीको दाबी छ ।
सोही सूचनाको आधारमा प्रहरीले दुवै ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ । जाँचपास गराउँदा नयाँ वासिङ मेसिनको भन्सार नतिरेको स्रोतको दाबी छ ।
ती ट्रक इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ । मंगलबार बिहान जनप्रतिनिधिको रोहवरमा ट्रकभित्रको सामान खोलिने प्रहरीले जनाएको छ ।
शंका लागेर प्रहरीले ती ट्रक समातेको र ट्रक खोलेपछि त्यहाँभित्रको सामान थाहा हुने प्रहरीले जनाएको छ ।