
झापा- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस काउन्सिलको सट्टा मिडिया काउन्सिल बनाउने गरिको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी रहेको बताएकी छन् ।
बुधबार झापाको बिर्तामोडमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले पहिला छापा माध्यमको बाहुल्यता रहेको तर अहिले छापा माध्यमभन्दा पनि नयाँ अनलाइन माध्यमहरूको विकास भएसँगै सरकारले मिडिया काउन्सिलको अवधारणा अघि सारेको बताइन् ।
उनले अब बस्ने मन्त्रिपरिषदको बैठकमा मिडिया काउन्सिल गठनको प्रस्ताव लैजाने बताइन् । मन्त्री शर्माले भनिन्, ‘अब मिडिया काउन्सिल बन्नुपर्छ । अहिले धेरै अनलाइन मिडियाहरू खुलेर अस्तित्वमा आइसकेपछि परम्परागत काउन्सिलले काम गर्दैन भन्नेमा सरकार रहेको छ ।’
नयाँ मिडिया आइसकेपछि उनीहरूलाई सेवा सुविधा दिइनुपर्ने, सुरक्षित पनि बनाउनुपर्ने र नियमन पनि गर्नुपर्ने भएकाले मिडिया काउन्सिल गठन गर्नुपर्ने धारणा मन्त्रालयको रहेको मन्त्री शर्माले बताइन् ।
काठमाडौं बाहिरका पत्रकारहरूले भोगेका कुराहरू र आगामी बजेटमा के कुरा समेट्नुपर्छ भन्ने कुराको सुझाव मन्त्रालयलाई दिन उनले पत्रकारहरूसँग आग्रह गरिन् ।
अर्को एक प्रसंगमा मन्त्री शर्माले गृहमन्त्री रवि लामिछानेमाथि राजनीतिक पूर्वाग्रह राखेर नेपाली कांग्रेसले आरोप लगाएको बताइन् । उनले भनिन्, ‘सहकारीको समग्र बेथितिको अन्त्य गर्ने विषय राम्रो हो । तर उहाँमाथि राजनीतिक पूर्वाग्रह राखेर आरोप लगाइनु गलत हो ।’
एकतिर प्रधानमन्त्री प्रस्ताव आफै गर्ने तर गृहमन्त्री भएका बेला राजनीतिक पूर्वाग्रह राखेर आरोप लगाउनु गलत भएको उनले बताइन् ।